हेटौंडा, ३० जेठ । मकवानपुरमा स्वरुप परिवर्तन गरि असार १ गतेबाट एक हप्ता निषेधज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारीलाई एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरकोे अनुसार असार १ गतेबाट खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन हुने छ ।
यसअघि बिहान ४ बजेदेखि बिहान ९ बजेसम्म खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु खुल्ने गरेका थिए । यस बाहेक स्टेशनरी पसल, मोवाईल पसल , अटो तथा मोटरसाईकल मर्मत सेन्टर पनि बिहान १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
यसअघि हप्तामा ३ दिनमात्र खुल्ने गरेको बैंकहरु अव प्रत्येक दिन बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन हुने छ । वित्तिय सहकारी पनि खुल्नेछन तर बजारमा पैसा संकलन गर्न भने पाउनेछैन ।
निषेधाज्ञा खुकुलो बनाइएसँगै बजारमा मानिसहरुको चहलपहल बढ्ने देखिएको छ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गर्दै आएका छन् ।