हेटौंडा, जेठ । प्रदेश नम्बर २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सत्तारुढ जनता समाजवादी पार्टी संसदीय दलले ह्वीप जारी गरेको छ । संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
आज दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । दुई दिनदेखि घनिभूत छलफल भएको नीति तथा कार्यक्रम पारित हुन जसपा भित्रको अन्तरकलहले गर्दा कठिनाई देखिएकोले मुख्यमन्त्री राउतले ह्वीप जारी गरिएको छ ।
जसपाभित्रको असन्तुष्टिको नेतृत्व गरिरहेको महन्थ-राजेन्द्र खेमाले समर्थन नगर्ने सुइँको पाएका कारण नीति तथा कार्यक्रम पारित नहुने आशंकाका बीच ह्वीप जारी गर्नुपरेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादवले जानकारी दिए ।
यता जसपा महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले नीति तथा कार्यक्रमको आफूहरुले समर्थन गर्ने जनाइएको छ । उहाँले नीति तथा कार्यक्रमको विपक्षमा नजाने समेत स्पष्ट पार्दै सो पक्षमै मतदान गर्ने उहाँको भनाई छ ।
यता प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी भएपछि केही काङ्ग्रेसका सांसदहरु पनि असन्तुष्ट रहेको स्रोतको दावी छ ।
यद्यपि नेपाली कांग्रेसका सबै प्रदेशसभा सदस्य पक्षमै मतदान गर्ने सचेतक उपेन्द्र कुश्वाहाले बताउनुभयो । उहाँले आवश्यकता परेमा आफुहरु पनि ह्विप जारी गर्न सक्ने बताउनुभयो ।