हेटौंडा, ३० जेठ । रानीखेतलगायत रोगविरुद्ध खोप लगाएका कुखुराहरु नै त्यसै रोगका कारण मर्न थालेपछि यसबारे थप अनुसन्धान सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरुले यसबारे थप अनुसन्धान गरिरहेका छन् ।

यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले पनि यसबारे थप अनुसन्धान गरिरहेको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । रानीखेतविरुद्धको भ्याक्सिन नेपालमा पनि उत्पादन हुँदै आएको छ । एफ वान, लासोटा र आर दु बी भ्याक्सिनको प्रभावकारिताबारे समेत विज्ञहरुले अनुसन्धान सुरु गरेका छन् ।

यो वर्ष विभिन्न सरुवा रोगका कारण ६० लाखभन्दा धेरै कुखुराहरु मरेका छन् । अहिले लोकल कुखुरा, हाँस, गिरिराजलगायत कुखुराहरुमा बढी समस्या देखिएको र आवश्यक अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि परामर्शका लागि स्वाब विदेश पढाउने तयारी भएको प्रवक्ता ढकालको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण समयमै स्वाब विदेश पठाउन ढिला भएको उहाँले बताउनुभयो । यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले भ्याक्सिन राम्रोसँग नलगाउँदा सबैभन्दा धेरै समस्या आएको निष्कर्ष निकालेको छ । राम्रोसँग भ्याक्सिन लगाउन सकियो भने जोखिम कम गर्न सकिने तर समस्या भने रहेको विभागका उपमहानिर्देशक डा.रामनन्दन तिवारीले जानकारी दिनुभयो ।