हेटौंडा, २९ जेठ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । गत बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार आज छलफल भएको होे ।
छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४७ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए । छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।
प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभएको हो । उहाँले निति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । पौडेलले प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
मुखयमन्त्री पौडेलले यसवर्षको बजेटको मुख्य प्राथमिकता कोभिड–१९ नियन्त्रण तथा जोखिम न्यूनीकरण अन्तर्गत सबै जिल्लामा खोप लगाउने रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरेको काम कसैले नकार्न नसक्ने मुख्यमन्त्री पौडेलको दावी थियो ।
मुख्यमन्त्री पौडेलले कतिपय प्रदेश सभा सदस्यहरुले आक्रोशपुर्ण धाराणा राखेको बताउनुभयो । उहाँले संघिय सरकारको आलोचनाको विषयमा आmुले केहि नबाल्ने बताउँदै प्रधानमन्त्री केपि शर्मा ओलिका विरुद्ध बोल्नेहरुको समर्थनमा आफु कदापि नहुने जिकिर गर्नुभयो ।
यस्तै उहाँले विद्युतीय बस सञ्चालन गर्न सकिँदैन भनेर पन्छिन नमिल्ने बताउनुभयो । हेटौंडा–काठमाडौं सुरुङमार्ग संघीय सरकारको सह–लगानीमा सञ्चालन र निर्माण गरिने तथा ४ वर्ष भित्रमा निर्माण सकिने गरी २ अर्ब खर्चमा सुरुङमार्गको काम गरिने मुख्यमन्त्री पौडेलको भनाई थियो ।
नीति तथा कार्यक्रम स्वीकृत भएपछि बागमती प्रदेशसभा बैठक आगामी असार १ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।