घर्षण हुँदा सञ्चित हुने शक्तिहरु ठूलो विष्फोटक भएर भूकम्प जान ७० वर्ष भन्दा बढी लाग्दछ भने सानातिना पराकम्पनहरु जति बढी जान्छन्, त्यसले ती ठूलो भूकम्प जानबाट बचाउँछ ।
हेटौंडा, २९ जेठ । धेरै वर्ष पहिला पृथ्वी बन्न अनेक प्रकारका सामग्री एकै ठाउँमा अन्तरघुलन भएको बताइएको छ । यो अन्तरघुलनबाट धेरै मात्रामा तापक्रम उत्पन्न भयो । विस्तारै पृथ्वी सेलाउँदै गयो । धेरै घनत्व भएको पदार्थ पृथ्वीका केन्द्रतर्फ र कम घनत्व भएको पदार्थ माथि गए । पृथ्वीको भित्री भागलाई चार भागमा बाँडिएको छ । अत्यन्तै धेरै ताप र चापले म्यान्टलमा ‘कन्भेक्सन करेन्ट’ उत्पन्न हुन्छ । त्यसमा भएको पदार्थ भित्रबाट बाहिर आउँछ । यही गतिले माथिल्लो भाग क्रस अनि स्लाइड हुन्छ । जानकारहरु भन्छन्, पृथ्वीको क्रस ठूलो टुक्रामा विभाजित हुन्छ । ती टुक्राहरुलाई टेक्टोनिक प्लेट भनिन्छ ।
यस्ता प्लेटहरु सात वटा हुन्छन्, त्यही प्लेटहरुको हलचलले नै भूकम्प जान्छ । खोजकर्ताहरुका अनुसार, ५ करोड वर्ष पहिला भारतीय प्लेट उत्तरतिर अगाडि बढ्दै युरेसियन प्लेटसँग ठोकिए अनि हिमाली भूभाग निर्माण भए । पृथ्वीको माथिल्लो भूभाग विभिन्न टुक्रा मिलेर बनेको छ जसलाई प्लेट भनिन्छ । नेपालसमेत रहेको हिमालय बेल्टको निर्माण भारतीय प्लेट र तिब्बती प्लेट एकअर्कामा जुधेर बनेका हुन् । सानो भएकाले भारतीय प्लेटले तिब्बती प्लेटलाई धकेल्न सक्दैन । प्रत्येक वर्ष २ सेन्टिमिटरका दरले भारतीय प्लेट तिब्बती प्लेटतिर धकेलिन्छ ।
यसरी धकेलिने क्रममा प्लेटमा घर्षण हुँदा शक्ति सञ्चय हुन्छ अनि प्लेटभित्रको परिधिलाई फल्ट वा चिरा भनिन्छ । करिब एकसय वर्षजति फल्ट नेपालको सीमाभित्र परे । तीमध्ये दुई वटा फल्ट काठमाडौं उपत्यकामा पनि परेका थिए । भारतीय प्लेट तिब्बती प्लेटमा घस्रिरहेको र अथाह शक्तिसञ्चय भइरहेका कारण हिमालय क्षेत्रमा भूकम्पको जोखिम बढी हुनेछ । तर, भूकम्पलाई कति र कस्तो अनि कहिले आउँछ भनेर पूर्वानुमान गर्ने विषयमा वैज्ञानिकहरुबीच मतभेद छ । भूकम्पको पूर्वानुमान गर्न सकिने वा नसकिने जे जस्तो भए पनि क्षति भने न्यूनिकरण भने गर्न सकिने तथ्यहरु वैज्ञानिकहरु पत्ता लगाएका छन् ।

भूकम्पसम्बन्धी पूर्वानुमान र मिति तोक्न सक्ने बलियो आधार र प्राविधिक रुपमा भरपर्दा संयन्त्र उपलब्ध छैनन् । भूकम्प होरिजेन्टल र भर्टिकल दुई प्रकारका हुन्छन् । अर्थात् सतही र गहिराइ दुई प्रकारका भूकम्पमध्ये सतही भूकम्प पृथ्वीको माथिल्लो तहबाट प्लेटहरुको हलचलले हुने गर्दछ । प्लेटहरु टुक्रा भई गतिमा भने सतहमुनिको चिसो र तापक्रमले निर्धारण गर्दछ । यही आधारमा बग्ने कन्भेक्सन करेन्ट नै प्रमुख हो । पृथ्वीको गहिराइमा अधिक तापक्रम र दबाबका कारण चट्टानहरुको आकार परिर्वतन हुने क्रममा हुने असन्तुलनका कारण हुने हलचलले पनि भूकम्प जाने गर्दछ । जति ठूलो स्केलमा भूकम्प जान्छ, त्यही हिसाबले चट्टान चिरा पर्ने र छुटिन्छ । भूकम्प जाँदा जमीन हल्लिई जमीनमुनिको पानी र माटो मिलेर दलदलले माटोमा परिणत हुन्छ । यसले गर्दा भौतिक सम्पत्तिहरु भासिने वा हल्लिएर ढल्दछ । भूकम्पका कारण पहिरो, बाढी र हिमताल फुट्दछन् ।
जमीनको गतिविधि नाप्न जिपिएस प्रविधि प्रयोग गरिन्छ । जिपिएस स्याटेलाइट लगातार पृथ्वीको परिक्रमा गर्दै जमीनमा भएका जिपिएस स्टेसनलाई रेडियो संकेत पठाइरहन्छ । यदि स्टेसनको गतिविधिमा अलिकति पनि परिर्वतन भए त्यो जिपिएस स्टेसनमा रेकर्ड हुन्छ । प्लेट्स एक अर्कालाई धकेल्छन् र जमीनभित्र चाप बढ्दछ ।
भूकम्प चार प्रकारले जाने गर्दछ । प्रारम्भिक चरणमा जानेलाई ‘पि वे’ अर्थात ‘प्राइमरी वे’ भनिन्छ । यो चरणमा भूकम्प आएको अनुभव हुन्छ । यसको गति अगाडि पछाडि हुँदै जान्छ । यसले खासै क्षति नपु¥याउने आँकलन गरिन्छ । यसको लगत्तै ‘एस वे’ अर्थात ‘सेकेन्डरी वे’ आउँदछ । यसले तल–माथि हल्लाउछ । दुई चरणको ‘वे’ मा बच्नु पर्दछ । त्यसपछि ‘एल वे’ अर्थात ‘लभ वे’ खतराजनक हुन्छ । यसले मानिस तथा अन्य बस्तुलाई नचाएको अनुभव गराउँदछ । यो विनाशकारी हुन्छ । र, अर्को चरणलाई ‘रेले वेभ’ भनिन्छ । यो चरणमा पृथ्वी नै घुमाएझँै अनुभव हुन्छ । यसले त झन ठूलै विनाश निम्त्याउँछ । (एजेन्सीहरुको सहयोगमा)