हेटौंडा, २९ जेठ । नेपाली कांग्रेसले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ ।
प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको भन्दै नेपाली कांग्रेसले संसदमा संसदीय मर्यादाको पालना अनिवार्य पालनामा सचेत गराएको छ ।
हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको कांग्रेसले प्रष्ट पारेको छ ।
यस्तै नेकपा एमालेले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति आपराधिक भएको बताएको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर वैद्यको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको बताउनुभएको छ ।
वैद्यको भनाइ फौजदारी कानुन आकर्षित हुने खालको भएको विज्ञप्तिमा उल्लेख छ ।