भीमसेन पौडेल
हेटौँडा, २९ जेठ । हेटौँडा–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटन विकासका लागि ब्लक नम्बर ५ स्थित शान्तिटोलमा बालउद्यान निर्माण गरेको छ । समूहको चालु आर्थिक वर्ष २०७७–७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार बाल उद्यान निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय मकवानपुरको ४ लाख ६५ हजार रुपैयाँ र वन समूहको ५१ हजार रुपैयाँसहित ५ लाख १६ हजार रुपैयाँ लागतमा बालउद्यान निर्माण गरिएको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनु भयो ।
समूहले शान्तिटोल विकास संस्थासँग समन्वय गरेर विभिन्न कार्यहरु पनि गरिरहेको छ । ब्लक नम्बर ५ मा किराँतेश्वर मन्दिर, रिटेनिङ वाल, प्रतिक्षालय निर्माणलगायतका भौतिक संरचनाका काम गरिएको छ । प्राकृतिक सौन्दर्यता संरक्षणलाई प्राथमिकता दिइएको समूहले जनाएको छ ।
वन समूहले विश्वमै लोपोन्मुख एवम् संरक्षित सूचीमा रहेको सालक उद्धार गर्न डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा सालक केज निर्माण कार्य गरिरहेको समूहका उपाध्यक्ष केशव धितालले बताउनु भयो ।