हेटौंडा, २९ जेठ ।
आज बाल श्रमविरुद्धको दिवस देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष जुन १२ तारिखमा दिन विश्वभर मनाइदै आएको छ ।

बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्य विरुद्ध बालश्रम विरुद्धको दिवस मनाइने गरिएको हो । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिका सम्बन्धी ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरूलाई श्रमिक बनाउन बर्जित गरेको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा १० मा कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउने कार्य कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर प्रावधान राखेको छ ।

तर पनि बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रम हो भने नेपाल उच्च बालश्रम दर भएको देश हो ।

नेपालमा सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ । तर आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बालश्रमिक छन् । तीमध्ये ६ लाखभन्दा बढी बालश्रमिक जोखिमयुक्त पेशा व्यवसाय आवद्ध रहेको पाइन्छ ।