हेटौंडा, २९ जेठ ।
१६ औं संस्करणको युरोकप फुटबलमा इटालीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३–० गोलले पराजित गरेको हो ।

रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।

डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए । युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो ।

६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।

यस जितसँगै समूह ’ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा रहेको छ । टर्कीले आउँदो बुधबार वेल्स तथा इटालीले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन्।

युरोकप अन्तर्गत आज तीन खेलहरु हुनेछ । समूह ए मा एक र समूह बीमा दुई खेल हुँदै छ ।

यस पटकको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।