हटौंडा, २८ जेठ । गृह मन्त्रालयले कोभिड-१९ का कारण प्रभावित भएको देशको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उहाँकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड(१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देशन गरेको हो ।

गृहप्रवक्ता जनकराज दाहालले मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको जानकारी दिनुभयो । मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजीकरण एवं अनुगमन गरी विकास कार्यमा तीव्रता दिन पनि भनेको छ । यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

परिपत्रमा अहिलेसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारि स्वास्थ्य मापदण्ड पालनाका साथै आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनेको छ । नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिइ त्यहीअनुसार सुरक्षा योजना बनाइ कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

परिपत्रमा गृह मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निजामती तथा प्रहरी कर्मचारीले उच्च मनोबलका साथ जनगुनासो नआउने गरी कानुनको पूर्णपालना गर्न, मानव अधिकारको प्रत्याभूति हुने गरी भ्रष्टाचारमा शून्य सहनशीलताको मर्म अनुरुप पारदर्शी रुपमा कार्य सम्पादन गर्न भनिएको छ । आउँदो कात्तिक २६ र मंसिर ३ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचन भयरहित, निष्पक्ष र विश्वासिलो बनाउन सम्वद्ध पक्षबीच आवश्यक समन्वय गरी तत्काल निर्वाचन कार्ययोजना तयार गर्न पनि निर्देशन दिइएको छ ।

परिपत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख ६, १३ र १९ गते कोभिड-१९ प्रतिकार्यसँग सम्बन्धी निर्णय एवं मन्त्रालयबाट भएका कोरोनासँग सम्बन्धित निर्णय एवं निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्न पनि अनुरोध गरिएको छ । जिल्लास्थित अस्पताल एवं अक्सिजन प्लान्टमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र कोभिड-१९ बाट सङ्क्रमित बिरामीको उपचारमा आवश्यक समन्वय गर्न पनि भनिएको छ ।