हेटौँडा, २८ जेठ । नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आपत्ति जनाउनुभएको छ ।
नेता बानियाँले विज्ञप्ति प्रकाशन गरेर लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हाे । उहाँले कुनै पनि नागरिकले स्वतन्त्रपूर्वक हिँड्डुल गर्न पाउने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राखिनु गलत भएको बताउनुभएको हो ।
विज्ञप्तिमा नेता बानियाँले लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी गरिए पनि वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादति गरेको दावी गर्नुभएको छ ।
नेता बानियाँले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै निन्त्रणमा लिए पनि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भए पनि नियन्त्रणमा राखी अनावश्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै नेता लामालाई विनाशर्त तत्काल छोड्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।
गत आम निर्वाचनमा बागमती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं. १ ख का उम्मेदवारसमेत रहनुभएका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निर्वतमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।