हेटौंडा, २६ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कोरोना संक्रमणका कारण गाउँपालिकाका कोही पनि समस्यामा नपर्ने बताउनु भएको छ । शक्तिखबर डटकमसँगको कुराकानीमा अध्यक्ष खनालले भन्नु भयो, ‘रोग र भोकका कारण जनता समस्यामा पर्न दिनेछैनौँ, परेको समस्या टार्न गाउँपालिका तयार छ ।’ खनालले वडाध्यक्षहरु मार्फत सबै वडामा पिसिआर परीक्षण, आवश्यक उपचार व्यवस्थासँगै लकडाउनका कारण भोकै परिरहेका परिवारलाई पनि समस्या टार्न गाउँपालिका तयार रहेको बताउनु भयो ।
बकैया गाउँपालिकामा कोरोना संक्रमणले जनजीवन कति प्रभावित भएको छ ?
बकैया गाउँपालिकामा पहिलाको तुलनामा संक्रमण दर बढेको छ । पछिल्लो समय बजारतिर बसोबास गरिरहेका मानिस गाउँमा प्रवेशसँगै कोरोना संक्रमण अलि बढेको हो । तर, एक हप्ताभित्र यो संक्रमणदरमा नियन्त्रण आउँछ । पछिल्लो समय १ सय ५० जना संक्रमित हुनु भएको थियो । निको हुने क्रम पनि बढिरहेको छ । संक्रमितमध्ये धेरैजसो होम आइसोलेसनमा बस्नु भएको छ भने हामीले तयार गरेको आइसोलेसनमा पनि केही हुनुहुन्छ । कोरोनाबाट अहिलेसम्म पालिकामा ३ जनाको मृत्यु भएको छ ।
मानिसहरु पिसिआर चेक गराउनै जान छाडे नि ?
अहिले मौसम परिर्वतनको समय हो । सामान्य रुघाखोकी लगायतका सामान्य समस्या सबैजसोमा हुने गर्दछ । गाउँमा यस्तो समस्या हुँदा यो यस्तै त हो नि भनेर बस्नु भएको छ । यो त सधैँ भइरहेकै हो भन्ने परेको छ । चेक गराए पनि देखाइहाल्छ । किन चेक गराउनु भन्ठानेका छन् । अनि लागिहाले १०–१२ दिनमा निको भईहाल्छ । यता चेक गराउँदा अरुले थाहा पाए भने के भन्लान् भन्ने डरले पनि पिसिआर चेक गर्न नगएको पाएका छौँ । तर, हामीले लक्षण भएकाहरु सबैलाई पिसिआर चेक गर्न जान भनेका छौ । यदि पोजेटिभ आएमा आइसोलेसनदेखि अन्य स्वास्थ्य समस्या आए गाउँपालिकाले आवश्यक समन्वय गर्ने नै छ । त्यसैले निर्धक्क भएर पिसिसिआर चेक गर्न जान सबैलाई आग्रह गर्दछु ।
लकडाउनले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई समस्या छ, यिनलाई राहतको व्यवस्था कसरी मिलाउनु भएको छ ?
यो वर्ष हामीले राहत व्यवस्था गरेका छैनौँ । गतवर्ष राहत व्यवस्था गरेका थियौँ । यो वर्ष सोचचाहिँ बनाएका छौँ । यहाँका नागरिक धेरथोर कृषिमा आश्रित भएकाले खाद्यान्नमा खासै अहिले समस्या सुनेका छैनौँ । ग्रामीण भेगमा स्वास्थ्य मापदण्ड पालना गर्दै सामान्य खेतबारीका काम भइरहेका छन् । तर कोही कसैलाई समस्या छ भने हामी तत्काल उपलब्ध गराउँछाँै । यस्तो अवस्था आएका नागरिकलाई सहयोगका लागि सबै वडाध्यक्षमार्फत हामीले परिपत्र गरेका छौँ कि कोही भोकै नपरुन्, नमरुन् ।
कोरोना अनि लकडाउनले विकासका काम कति प्रभावित भएको छ ?
देश मात्र होइन, सिंगो विश्व नै कोरोनाको चपेटामा परिरहेका बेलामा बकैया गाउँपालिका अछुतो रहने कुरै भएन । धेरथोर समस्या त छदैँछ । सुरक्षा मापदण्ड अपनाएर निर्माणका काम गरिरहेका छौँ । बाहिरबाट मजदुर ल्याएका छैनौँ । स्थानीय मजदुर लगाएर काम गराइरहेका छौँ । उहाँहरुलाई एकै स्थानमा राखेका छौँ । बाहिर जान दिएका छैनौँ । स्वास्थ्य सावधानीलाई प्राथमिकता दिँदै काममा लगाइरहेका छौँ । विकासका र आन्तरिक काम सकेसम्म रोकेका छैनौँ ।
र, अन्त्यमा, गाउँपालिकाबासीलाई केही सन्देश छ कि ?
अहिलेको समयमा हामी सबै जोगिएर बस्नु पर्नै बेला छ । एकले अर्कालाई सहयोग गर्दै कोरोनालाई सबै मिली परास्त गर्नुछ । यो काममा गाउँपालिकाका सबै मिलेर लाग्नु पर्दछ । अहिलेको अवस्थामा भेला सम्मेलन गर्नु हुँदैन । विवाह, व्रतबन्धलगायत शुभकार्य गर्दा धेरै जना जम्मा नहुन आग्रह गर्दछु । धेरै भन्दा धेरै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न हुन सबैलाई आग्रह गर्दछु । साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने, चिसो पदार्थ नखाने, यदि सजग हँुदाहँुदै पनि स्वास्थ्यमा केही प्रतिकुल असर देखा परे पिसिआर चेक गर्ने, स्वास्थ संस्थामा जाने र परामर्श लिने गर्नुपर्दछ । आफू सुरक्षित रहँदा आफ्नो परिवार अनि गाउँ छरछिमेक सबै सुरक्षित रहन्छन् । स्वास्थ्य सुरक्षाबारे ध्यान पुर्याउन सबै गाउँपालिकाबासी तथा सम्पूर्ण देशबासीमा आग्रह गर्दछु ।