हेटौंडा, २६ जेठ । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट सञ्चालन हुने भनिएको कोभिड १९ विरुद्धको खोप मेयर हरिबोल महतको अनिच्छाका कारण रोकिएको छ ।
हेटौंडाका १९ वटै वडामा खोपका लागि टोली परिचालन भइसकेको थियो । विकट भनिने दुई वटा वडामा खोप पुर्याउन गाडी पठाइएको थियो । खोप लगाउन शुरु हुनु ५ मिनेट अगाडि मेयर महतको आदेशमा खोप लगाउन रोकिएपछि तयार भएका स्वास्थ्यकर्मी र उपस्थित भएका वडाध्यक्षहरु पनि अन्यौलमा परेका थिए ।
किन रोकियो खोप भन्नेमा कुनै जानकारी र जवाफ पनि थिएन वडाध्यक्ष र स्वास्थ्यकर्मीहरुको । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले अर्को व्यवस्था नभएसम्मका लागि खोप रोक्नु भन्ने जानकारी आएको बताउनु भयो । हेटौंडा उपमहानगरमा ३ हजार १ सय खोप जरुरी रहेको अनुमान गरिएको छ । आज ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई परिचय खुल्ने कागजात लिएर आउन र खोप लगाउन वडाध्यक्षहरुले पनि अपिल गरेका थिए ।
के भन्छन् मेयर ?
हेटौंडाका मेयर हरिबोल महतले भन्नु भयो, ‘६० वर्ष माथिका नागरिकलाई मात्र कोभिड हुने हो र ? अरु उमेरकाले पनि पाउनु पर्छ ।’ उहाँले पत्रकार सम्मेलन गरेर मात्र खोप लगाउने अभियान चलाउने बताउनु भएको छ । वडाध्यक्ष र स्वास्थ्यकर्मीहरु पनि अन्यौलमा परे भन्ने जिज्ञासामा भन्नु भएको छ, ‘मलाइ फेरि उठ्नु छैन, कोही रिसाएर केही हुँदैन ।’
एमालेको लोकप्रियतामै कालोमोसो
हेटौंडाका मेयर हरिबोल महतलाई थाहा हुनु पर्ने हो, २०५१ सालमा बनेको नेकपा एमालेको अल्पमतको सरकारले ल्याएको एउटै लोकप्रिय कार्यक्रम हो वृद्धभत्ता । त्यही वृद्धभत्ता यो वर्षको बजेटमै बढेको छ ।
त्यतिमात्र होइन, केपी ओली सरकारले गरेको निर्णय हो, पहिलोचरणमा खोप ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई लगाउने । यो अभियानले नेकपा एमालेको २०५१ सालकै सरकारको बाटो लिएको थियो ।
त्यही अभियानमा हेटौंडामा पनि खोप लगाउन शुरु हुँदा कसैसँग सल्लाह नगरी मेयर महतको एकल आदेशमा खोप रोकिएपछि स्वास्थ्य केन्द्र पुगेका जेष्ठ नागरिक र स्वास्थ्यकर्मी निरास हुँदै घर फर्केका छन् । वडाध्यक्षहरु पनि नाजवाफ छन् ।
समाचारमा प्रयोग भएको मेयर हरिबोल महतको तस्बिर मकवानपुर घरजग्गा व्यवसायी संघले हेटौंडा अस्पताललाई अक्सिजन प्लान्टको रकम भुक्तानी गरेको कार्यक्रमको हो ।