हेटौंडा, २५ जेठ । राक्सिराङ गाउँपालिकामा अस्थायी कोभिड अस्पताल आजबाट सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुरको अनुदानमा गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको मौज्दात कोषबाट प्राप्त ५० लाख रुपैयाँ बजेटबाट राक्सिराङ गाउँपालिका–५ स्थित ठाडेचुरीमा निर्माण भएको २६ बेडको अक्सिजन सुविधा सहितको अस्थायी कोभिड अस्पतालको उद्घाटन गरिएको हो ।
जिल्ला समन्वय समितिको ५० लाख र गाउँपालिकाको १५ लाखको लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको हो ।
यस अघि गाउँपालिकाले पालिकाको मुकाम चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालयमा कोभिड–१९ अस्पताल सञ्चालन गरिरहेको थियो ।
२६ कोठे प्रिफ्याव भवन तयार भएसँगै कोभिड–१९ संक्रमित बिरामीलाई अस्पतालमै स्थानान्तरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ ।