हेटौंडा, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

संसद विघटन गरी निर्वाचनको घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै परेका ६ वटा रिटमा आज सुनुवाइ हुने भएको हो ।

सबै रिट निवेदनहरु न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

कोरोना महामारी जारी रहेकाले सो सम्बन्धी रिटहरुमा भर्चुअल माध्यमबाट सुनुवाइ हुने बताइएको छ ।

त्यसअघि न्यायाधीश खतिवडाको इजलासमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दाको पनि सुनुवाइ हुने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा छट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।

आजको सुनुवाइले अन्तरिम आदेश जारी गरेमा हालै मन्त्री बनेकाहरुको पद गुम्नेछ ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका १० र एमालेका दुई जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीको रिटमा मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक, बदनियतपूर्ण र संविधानसँगको धोकाधडी भएको जिकिर गरिएको छ ।