हेटोंडा, २४ जेठ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्तसहित पार्टी एकताको आह्वान गरेपछि आधिकारीक धारणा तय गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको आज बैठक बस्ने भएको छ ।

अध्यक्ष ओलीले २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो ।

बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी सो समूहको छ । ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ । अध्यक्ष ओलीको एकताको आह्वानप्रति पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

हिजो नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थाबाट अगाडि बढाउन आफू तयार रहेको भन्दै पार्टी एकतामा आउन सबैलाई आह्वान गर्नुभएको थियो ।

पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने उहाँको भनाइ छ ।
पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त पनि राख्नुभएको छ ।