हेटौंडा, २३ जेठ । कोरोना संक्रमणबाट हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा ३ जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का ५० वर्षका पुरुष, राक्सिराङ गाउँपालिका वडा नम्बर–१ का ८२ वर्षका पुरुष र सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर ५ का ८६ वर्षका पुरुष रहेका छन् ।
यसैगरि २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय ५७ जनामा पिसिआर र ९० जनामा एन्टीजेन परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको हो । आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी २९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।
यसैगरि मनहरी गाउँपालिकाका १६ जना, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाका १२/१२ जना, बकैया गाउँपालिकाका ११ जना, बागमती गाउँपालिकाका २ जना छन् । भीमफेदी र राक्सिराङ गाउँपालिका भित्रका १/१ जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९ हजार ३ सय ३१ पुगेको छ ।