हेटौंडा, २३ जेठ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका लागि मकवानपुरका घरजग्गा व्यवसायीले दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन हुने अक्सिजन प्लान्ट नै खरिद गरिदिएका छन् ।

मकवानपुर घरजग्गा व्यवसायी संघले हेटौँडा अस्पतालका लागि अक्सिजन प्लान्ट खरिदको सम्पूर्ण रकम जुटाइदिएको हो । संघले अस्पतालका लागि ३८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट खरिद गरिदिएको हो । बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा सरकारी अस्पतालमा बिरामीका लागि अक्सिजन अभाव नहोस् भनेर प्लान्टका लागि रकम जुटाइएको मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेले बताउनु भयो ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि गरेको पहलमा घरजग्गा व्यवसायी प्लान्ट जडान गर्न तयार भएका हुन् । हेटौंडा उपमहानगरका मेयर हरिबोल महतले सहयोगी मनहरुलाई आभार प्रकट गर्नु भयो ।

अक्सिजन प्लान्टले दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको र अहिले कोरोनाका बिरामीहरुलाई पनि हेटौंडा अस्पतालमा अक्सिजन अभाव नभएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।









