हेटौंडा, २३ जेठ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बालुवाटारको ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ ।
भूमिसुधार कार्यालयको गएको चैत २० को आदेशअनुसार ४९ जनाको घरमा सूचना बुझाउन जाँदा घर/ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्रमा सार्वजनिक सूचना निकालेर २१ दिनको समय दिइएको हो ।
कार्यालयले जग्गाधनीलाई जग्गा नेपाल सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र सबुत कागज प्रमाणपत्रसहित लिखित प्रतिक्रिया पेस गर्न भनेको छ ।
जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए वा प्रतिक्रिया पेस नभए कानुनअनुसार हुने सूचनामा उल्लेख छ । सूचनामा उल्लेखित विवरणअनुसार बालुवाटारको ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ ।