हेटौंडा, २० जेठ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको पहिलो युनिटको परीक्षण सफल भएको छ । बहुप्रतिक्षित आयोजना ४ सय ५६ मेगावाटको आयोजनाले विद्युत् गृहको टर्बाइनमा पानी पठाएर पहिलो युनिटको सफल परीक्षण गरेको हो ।

यो विद्युत् उत्पादन अघिको मेकानिकल परीक्षण रहेकोे आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पहिलो युनिटको मेकानिकल परीक्षण सकिएको । पहिलो युनिटको टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने प्रवक्ता न्यौपानेको भनाई छ ।

अहिले विद्युत् उत्पादन गर्ने सबै युनिटको परीक्षण गर्नेगरी काम भइरहेको छ । पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन भए पनि प्रसारण लाइनमा भने छाडिएको छैन ।

असार अन्तिमसम्ममा कम्तीमा ३ वटा युनिटबाट २ सय २८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने तालिका राखेर आयोजनाले धमाधम परीक्षण गरिरहेको उहाँको भनाइ छ ।