हेटौंडा, १९ जेठ ।
कुख्रनी खोला निर्माणाधीन पुल समयमै निर्माण नसकिँदा हेटौंडा ९ त्रिवेणीनगरको तल्लो तहका बस्ती, कुष्माण्ड सरोवर त्रिवेणीधामलगायतका क्षेत्र जोखिममा परेको भन्दै संरक्षणको माग गरिएको छ ।
विगत ७ वर्षदेखि निर्माणाधीन पुलमा थुपारिएको ग्राभेलका कारण खोला वर्षाका समयमा बस्ती तथा धाममा पस्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । अहिले पुलको बाँकी भाग ढलानका लागि वनस्पतीतर्फको भागमा ग्राभेल थुपारिएको छ । यस्तो अवस्थामा वर्षामा आउने बाढी त्रिवेणीनगरतर्फ पस्ने जोखिम रहेको छ । जसका कारण बस्ती तथा धार्मिक तथा पर्यटकीय क्षेत्र कुष्माण्ड सरोवर त्रिवेणीधामलाई समेत क्षति पु¥याउने त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो ।
सो पुल तत्काल वर्षा अघि नै ढलाइ गरिसक्न र तल्लो भागमा हुन सक्ने जोखिम कम गर्न अहिले त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले पहल सुरु गर्नुभएको छ । पुलको ढलानको काम सकेर ग्राभेल निकालेमा समस्या नहुने भएकोले तत्काल ढलान गर्न वा कुख्रेनी खोलालाई राप्ती, कर्रा नदीको संगमस्थलसम्म ट्रयाक खोलेर एकोहो¥याउने काम गरेमा जोखिम कम हुने न्यौपानेले बताउनुभयो ।
यस विषयमा अध्यक्ष न्यौपानेले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समित, वडा कार्यालयलाई समेत ध्यानाकर्षण गराइसक्नुभएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल तथा हेटौंडा ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले सो स्थानको अनुगमनसमेत गरिसक्नु भएको छ ।
यसै विषयमा बुधबार हेटौंडा उपमहानगरपालिकाका चार ओटा वडाका वडाध्यक्षहरूसमेतको सहभागीतामा छलफल समेत भएको छ । वडा नम्बर ९का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको पहलमा हेटौंडा वडा नम्बर ९, १२, १३ र १४ का अध्यक्ष तथा त्रिवेणीधाम विकास समतिका अध्यक्षबीच छलफल भएको हो । छलफलका क्रममा वडाध्यक्षहरूले जोखिम कम गर्न संयुक्त रूपमा पहल गर्ने निर्णय गरेको ९ नम्बरका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
यसका लागि वडाध्यक्षहरूसहित त्रिवेणीधाम विकास समिति, उपभोक्ता समितिसहितको टोली बिहीबार संयुक्त रूपमा सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउन जाने भएका छन् । बिहीबार हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बागमती प्रदेश भौतिक योजना मन्त्रालय पुगेर यस विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
हेटौंडा ९ र १३ जोड्ने कुख्रेनी पुल निर्माण हुन थालेको ७ वर्षभन्दा बढी भइसकेको छ तर ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन सकेको छैन । गतवर्ष पुलको ४ ओटा पिलरको भागको ढलाइ भएर बाँकी ४ पिल्लरको ढलाइका लागि अहिले ग्राभेल थुपारेर रड बुन्ने तथा फर्मा हाल्ने काम भइरहेको छ । यही काम पनि विगत ६ महिनादेखि सुस्त गतिमा भइरेका कारण सो स्थानमा जमेको पानीमा डुबेर एक जनाले ज्यान गुमाइसकेका छन् भने केही दिन अघि आएको बाढीले सवारी साधनसमेत क्षति पु¥याएको थियो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वर्षामा वडा नम्बर १२ र १३ नम्बरका बासिन्दालाई हेटौंडा आवतजावतमा समस्या पर्ने देखिएको छ ।
७ वर्षअघि १८ महिनामा सक्ने गरी पुल बनाउन थालिएको हो । तत्कालीन जिल्ला विकास समितिमार्फत सुरु भएको पुलको निर्माण अहिले बागमती प्रदेश सरकार मातहत भइरहेको छ । प्रदेश पूर्वाधार कार्यालयमार्फत पुलको निर्माण भइरहेको हो ।