–रामकुमार एलन
शीर्षकअनुसार चोकमा प्वाक्क बोल्न नसके पनि धेरैको मनमा यस्तै तर्कना जेठको उर्लेको रापती झैँ उर्लँदो हो, जनताको गाडी डुबाउने गरी कुखरेनी खोल्सा झैँ बग्दो हो । बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभा हलमा पल्पसा आइसोलेसन सेन्टर उद्घाटन भएको छ । ३० बेड क्षमताको सुविधासम्पन्न आइसोलेसन हेटौंडाका अस्पतालहरु भन्दा पनि पायक चोकमा सञ्चालनमा आउँदा केहीलाई राजनीतिक ज्वरोले हनहनी पनि पारेको पनि होला ।

हेटौंडा उपमहानगरका प्रमुख हरिबोल महतले बुधबार बिहान ९ बजे आइसोलेसन उद्घाटन गर्ने तय भएको थियो । मंगलबार साँँझ सबै काम सकेर टोली घर गयो । प्रतीक्षा बुधबार बिहान ९ बजेको भयो । तर प्रमुखज्यूले ‘सरी’ भन्नु भयो रे, उहाँ आउन नसक्नुमा अनेक बाध्यतामध्ये एउटा बलियो बाध्यता पक्कै होला, आउनु भएन । नेपाली कांग्रेस मकवानपुरका सभापति, प्रदेश सांसद इन्द्रबहादुर बानियाँले आइसोलेसन सेन्टर उद्घाटन गर्नु भयो । इलेभेन्थ आवरमा तोकिएको कार्यक्रममा नजाने हेटौंडाका मेयर मात्र होइनन्, पूर्व मेयर र हालका मुख्यमन्त्री डोरमणि पौडेल पनि पर्छन्, यसको बारेमा पछि अलग्गै कुरा गरौँला ।

आइसोलेन सेन्टर उद्घाटनमा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रेमबहादुर पुलामी पनि आउनु भयो । मन्तव्य राखेर जानु भयो । नेकपा एमालेकै अर्का अध्यक्ष एकालाल श्रेष्ठलाई पनि आमन्त्रण गरिएको थियो । उहाँको अनुपश्थिति देखियो । यो मात्रैमा होइन, अन्य घटनाक्रममा पनि श्रेष्ठको फोन नउठेको, बैठकमा आउन नभ्याउनु भएको सचिवालयमा कुरा हुन्थ्यो, बाध्यता र व्यस्तताको परिबन्दमा मान्छे पर्न सक्छ । अर्को कुनै बेला फेरि चर्चा गरौँला ।

किन चाहियो आइसोलेसन ?
प्रदेशस्तरको करोडौँ बजेट भएको हेटौंडा अस्पताल छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार हेटौंडा अस्पतालका पनि अध्यक्ष खान तयारै छन् । डाक्टरहरु आएकै छन्, उपचार भएकै छ । गन्ने हो भने पनि हेटौंडा अस्पतालमा झण्डै १ हजार जति अक्सिजन सिलिण्डर भएको फेसबुकमा फोटो हाल्ने सिलिण्डरजस्तै ठिंग उभिएका फोटोवालाहरुले जनाउ दिइरहेका छन् । गौरीटारमा आइसोलेसन सेन्टर छ, आज १९ दिन भयो, सिडियोले फरमान जारी गर्दै कर्रा, सामरी, क्याम्पाडाँडा र रापती पुल कटेर बजार आउन जनतालाई रोकेकै छन्, अरु त अरु दूध र तरकारी किन्नसमेत रोकेपछि कोरोना भागिजान्छ भन्ने परेकै छ । प्रदेश सरकार यहीँ ओहोरदोहोर गरिरहन्छ । निजीक्षेत्रले सरकारलाई जिस्क्याउन खोज्यो, आइसोलेसन चलाएर निउँ खोज्यो, केहीले कुनाकाप्चातिर भन्ने गरेको सुनेको छु । निषेधाज्ञा भएर होला, खुलेर भन्न उहाँहरुलाई पनि गाह्रै छ, फेरि सिडियोसाबको फरमान पनि त मान्नै पर्यो, ७ जना भन्दा भिड नहुनु, सरकारको आदेश सरकार पक्षले नमाने कसले मान्ने ?

केही साताअघि नारायणी यातायातबाट सरोजकुमार खनाल दाइको फोन आयो । दाइको आग्रह थियो, मकवानपुर उद्योग वाणिज्य संघसहित निजीक्षेत्रका संस्था एक भयौँ, कोभिड हेल्प डेक्स चलाउने भयौँ, तपाईं पनि सदस्य बस्नु पर्यो । मैले हुन्छ भनेँ, मकवानपुर उद्योग वाणिज्य संघको बैठक कक्षमा जुट्यौँ । बैठकले सचिवालय बनायो । त्यहाँ नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम सदस्य संस्था हुनुहुन्थ्यो । मेरो नाम पनि उहाँहरुले राखेर प्रचारप्रसार गर्नु भयो । पछि अन्जली थापा पनि थपिनु भयो । नेपाल पत्रकार महासंघमा २०५४ सालमा सदस्य बनेयता यसपटकजति मैले र मेरा कारण केही संस्थाका पदाधिकारीहरुले निकै मानसिक तनाव खेप्नु पर्यो । कस्तो पुस्ता उत्पादन गरिएछ र पछिका पत्रकार नेताहरुले उत्पादन गर्नु भएछ, योबारे पनि पछि भनौँला ।

बैठक भएकै दिन कृष्ण अग्रवाल, जो मकवानपुर उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार र हाल उपाध्यक्ष हुनुहुन्छ, उहाँको संयोजकत्वमा ७ सदस्य सचिवालय बन्यो । सचिवालय बन्दा म पनि राखिएँ, यसपछि धेरै पत्रकारहरुलाई पनि ज्वरो आयो भन्ने बजारमा सुनेको छु, मसँग प्रकट नभएकाले र सुनाउनेहरुले बढाईँचढाइँ गरेर सुनाए होला भन्ने विश्वास गर्दै उहाँहरुप्रति सहानुभूति राखेकै छु । उहाँहरुले गर्नु भएको छोइछितोलाई अमूल्य पुरस्कार मानेर हामी हरेक दिन घरदैलो अभियानमा हिँड्न थाल्यौँ । कोभिड संक्रमितको घरमा पुगेर परामर्श, सेवा गर्न थाल्यौँ ।

घटना १: वडाध्यक्षसहित एक संक्रमितको घरमा हिँड्यौँ, संयोगले वडाध्यक्षज्यूले पनि अभियानको पहिलो दिन पहिलो संक्रमित भेट्ने सूचीमा उहाँकै नाम राख्नु भयो । हामी पुग्दा बिरामी तल्लो घर कि पल्लो घर, पत्तो छैन । भयो अब ? कोरोना संक्रमित यसरी बेखबर बजार कि आफन्तकहाँ ।
घटना २: एउटा परिवारमा पुग्यौँ, बुहारीलाई कोभिड, ससुरालाई पखाला, जेठाजुलाई घाँटी दुखेको । आँगनभरि ६ को हाराहारीमा (मान्छे भएर आधा दर्जन नभनिएको) केटाकेटी खेलिरहेका । मास्क पनि छैन, सतर्कता पनि छैन । सुरक्षित रहन सावधानी पनि छैन । पढेबुझेकै परिवारको यो हालत ।
घटना ३: संक्रमित जेष्ठ नागरिक । न मास्क, न सचेतता । आफ्नो घरै यहीँ छ, कहाँ जाने त भन्दै परररर पड्किने, हामीले बोलेको कान नसुन्ने । मास्क लगाउनु भनेर इशारा गर्दा सासै रोकिन्छ, गाह्रो हुन्छ रे, दैनिक दुई–अढाइसय मानिस त्यही बाटो हुँदै ओहोरदोहोर ।

पहिलो दिनको यो अभियानले हामी आत्तियौँ । ७ सय नागरिक होम आइसोलेसमा कसरी बसेका छन्, ऐनाजस्तै छर्लंगै भयो । भोलिपल्टका घटनाहरु:
घटना १: एउटा घरमा पुग्यौँ, एउटी पढेलेखेकै महिला पढेलेखेकै घमण्डसहित प्रस्तुत हुनुभयो । हामी भेटघाटमा आएको भन्दा किन आउनु प¥यो, हामीलाई थाहै छ नि भन्दै हामीलाई परिचय दिलाउनु भयो । कोरोनावाला बिरामीलाई भेटौँ न भन्दा उहाँले नै हातैले तानेर उहाँ हो भन्दै पुरुषलाई बाहिर ल्याउनु भयो । उहाँहरुलाई सबै थाहा छ भन्ने त परिचय भइसकेको थियो, मात्र मुखमा मास्क नभएको न हो ।

घटना २: ८ दिनअघि पत्नीको निधन, हामी अभियानमा हिँडिरहँदा त्यही गाउँमा पुगेको, आठौँ दिनमा पतिको पनि निधन । यतिखेर अभियानमा हामीसँग हेटौंडा उपमहानगरपालिकाका उपमेयर पनि जोडिनु भएको थियो । घरमा पुग्दा त सबै हुल बाँधेर बसेका । बाबुलाई छुने, नछुने, घरमा जम्मा भएका सबै एकैठाउँमा । उपमेयर मीना लामाले भन्नुभयो, ‘एउटाले गर्दा सबैलाई सिध्याउला, डर छैन तपाईंहरुलाई ?’ उहाँले आर्मी बोलाउँछु भन्दा पर्दैन भन्ने जवाफ आयो ।

घरदैलो अभियान चलिरहेको थियो । हेटौंडा १, ५, ११, १७ बाहेकका वडाध्यक्षहरु मकवानपुर कोभिड हेल्पडेस्कको कामकारबाहीमा जोडिन सक्नु भएको थिएन । उहाँहरुको अरुचिको स्केल बढ्दो थियो । उपमेयरलाई ‘मेरो वडामा केही छैन, आउनु पर्दैन भन्ने’ वडाध्यक्षहरुलाई सम्मान गर्न बाँकी नै छ । तर वास्तवमै होम आइसोलेसनको अवस्था हामी भोगिरहेका थियौँ ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटेर चारनाका थुनेर कोरोना रोकिन्न, होम आइसोलेसनले नै मान्छे सकिने स्थिति छ भन्यौँ । उहाँको छरितो जवाफ थियो, ‘यस्तो बेला वडाध्यक्ष र टोल विकास संस्थाहरु सक्रिय हुनुपर्छ, म मेयरसाब बोलाएर कुरा गर्छु, तपाईंहरुलाई खबर गर्छु ।’

सिडिओ साबले के के गर्नु भयो, भन्नु भयो, एउटा गजबको खबर आयो, ‘सिडिओ, एसपी र वडाध्यक्षहरु घरदैलो अभियानमा जाने ।’ क्या गजब, हामीले गरिरहेको अभियानलाई विरोध गर्नेहरु पनि थिए । अन्ततः ठीकै गरेका रहेछौँ, उनीहरुले नै यो अभियान चलाएपछि हामीलाई हाम्रो काममा गर्व भयो । तर उनीहरु हिँडेको फेसबुकहरुले देखाएको छैन ।

यतिमै कहाँ हो र ?
सरकारी अभियान चल्ने चर्चामा हामी हिँडिरह्यौँ । एउटा अर्को घटना जोडौँ । दुई तले घर । तल दुई कोठामा दुई परिवार । माथि घरबेटी । तल कोरोना भएको मान्छे । बोलायौँ । छिमेकी आउनु भयो । विना मास्क आएपछि भन्यौँ, खोइ मास्क ? छिमेकीले भन्नु भयो, ‘उहाँलाई कोरोना हो र ?’ एउटै घरको कोठामा बस्नेलाई कोरोना भएको खबर छैन, घरबेटीसहित सबैको एउटै शौचालय ।

सोच्यौँ, होम आइसोलेसनले पो मान्छे सकिने हुन् कि ? हेटौंडा–८ कमाने गयौँ, त्यहाँ कोरोनाले मान्छे भसक्कै । ओहो, भएन, यस्तो होम आइसोलेसन भन्दा फरक, सुरक्षित चाहिन्छ भनेर लबिङ ग¥यौँ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणीका सरोज खनालले यसलाई जोडदारसँग उठाउनु भयो । दुई जनप्रतिनिधि (प्रमुख)ले मकवानपुर उद्योग वाणिज्य संघको आइसोलेसनको विरोध नै गर्नु भयो, नाम पछि भनौँला । तर हामीले सोच्यौँ, होम आइसोलेसनका नाममा कोरोना घट्दैन । मकवानपुरका सिडिओसँग अनुमति लिएर पल्पसामा आइसोलेसन चलाउने काम भयो ।

को के भन्छन् ?
हेटौंडामा प्रदेशस्तरको सरकारी अस्पताल र सुविधासम्मपन्न गौरीटार आइसोलेसन सञ्चालनमा छ । निजी अस्पतालहरुले पनि कोभिड १९ को उपचार गरेकै छन् । यति हुँदाहुँदै पनि बिरामीलाई असुविधा महसुस गर्दै मकवानपुर उद्योग वाणिज्य संघले निजीक्षेत्रको संयोजनमा हेटौंडामै ३० बेडको सुविधासम्पन्न आइसोलेसन सञ्चालन भइछाड्यो । आइसोलेसन उद्घाटन गर्दै नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले सर्वसाधारणलाई खोप दिनुको सट्टा सरकार कोरोनाको आडमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न लागिरहेकोे बताउनु भयो ।

आइसोलेसन सञ्चालनले राज्यको सेवासुविधा पहुँच बाहिर रहेका सर्वसाधारणलाई सहज हुने प्रदेश सांसद एवम् राजनीतिक दलका नेताहरुको बुझाई छ । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल यो विषम् परिस्थितिमा सबै मिलेर सामना गर्नुपर्ने बताउनुहुन्छ ।

३० बेड क्षमताको पल्पसा आइसोलेसनमा चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरुले २४ सै घण्टा सेवा दिनेछन् । सरकारले बजारमात्रै बन्द गराएर कोरोना संक्रमणदर कम नहुने बताउनुहुन्छ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल । निजीक्षेत्रका तर्फबाट सर्वसाधारणका लागि अस्पतालकै जस्तो सेवा आरम्भ भएको छ । बागमती प्रदेशको राजधानी भएकाले हेटौंडामा कोही पनि कोभिडका बिरामी उपचार र आइसोलेसन सेवाबाट वञ्चित नहोउन् भनेर सञ्चालन गरिएको अभियानको नागरिकस्तरबाट पनि प्रशंसा भएको छ ।

यति पढेपछि तपाईंले जवाफ पाउनु भयो त ? तपाईंको प्रश्न थियो नि: किन चाहियो हेटौंडामा ‘व्यापारी’लाई आइसोलेसन सेन्टर ? सकभर जवाफ पाउनु भयो होला, पाउनु भएन भने अर्को ब्लगमा म फेरि लेखुँला, आफ्नो पेशै यस्तो छुच्चो त म क्यारुम ?