हेटौंडा, १९ जेठ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोरोनाका सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिनुभएको हो ।

मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्वजनिक गर्न भनिएको उहाँले बताउनुभयो । साथै अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख गरी शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।