हेटौंडा, १८ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजनको सङ्घारमा पुगेको छ । दुवै पक्षले एक–अर्कोलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका छन् ।
मङ्गलवार दिउँसो अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासनको निर्णय गरेलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेलगत्तै ठाकुर पक्षको बैठक बसेर यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । कार्यकारिणी समितिको बैठक लगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाउनुभएको हो ।
आयोगलाई पठाइएको पत्रमा यादवले दलको दर्ता किताबबाट महन्थ ठाकुरको नाम हटाउन अनुरोध गर्नुभएको छ । निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।
यसैबिच जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई पत्र पठाउनुभएको हो ।