हेटौंडा, १६ जेठ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान कार्यसमिति सदस्य, पत्रकार महासंघ दोलखाका सदस्य रवीन्द्र गौतमको कोरोना संक्रमण (कोभिड १९) का कारण भएको असामयिक निधन भएकोमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले दुःख व्यक्त गरेको छ । आज एक शोक वक्तव्य जारी गर्दै महासंघलाई स्तब्ध र मर्माहत बनाएको छ जनाएको छ ।


फोक्सोमा समस्या देखिएपछि दोलखाको चरिकोट अस्पतालमा उपचाररत गौतमलाई काठमाण्डौंको बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको थियोे । गए रातीदेखि स्वास्थ्यमा थप समस्या देखिएका कारण भेन्टीलेटरमा राखी उपचार गरिएकोमा गौतमको आज दिउँसो एभरेष्ट अस्पतालमा दुःखद निधन भएको हो ।

स्वर्गीय पत्रकार गौतमको श्रीमती, आमा, ९ वर्ष र ६ महिनाकी दुई छोरी छन् । भीमेश्वर नगरपालिका ३ का स्थायी बासिन्दा गौतमले २०६४ सालमा दोलखाबाट प्रकाशित हुने कालिन्चोक सन्देश साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो । दोलखाबाटै प्रकाशित हुने नवतरङ्ग साप्ताहिक, दोलखा एक्सप्रेस साप्ताहिकसँगै, आर्थिक अभियान दैनिक, इमेज च्यानलमा काम गर्नुभएका गौतम हाल अन्नपूर्ण मिडिया नेटवर्क (अन्नपूर्ण पोष्ट दैनिक, एपीवान टेलिभिजन) का दोलखा संवाददाता र रेडियो भीमेश्वरमा स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्थ्यो ।


गौतमको निधनले पत्रकार महासंघ र नेपालको पत्रकारिता क्षेत्रले एक निडर, व्यावसायिक, पेशाप्रति इमान्दार, कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ । शोकको यो घडीमा दिवंगत हुनुभएका स्वर्गीय गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।


महासचिव कृष्ण सारु मगरले साथै जारी गर्नुभएको शोक वक्तव्यमा कोरोना जोखिमका कारण पूर्ण स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यक्षेत्रमा खटिन सबै सञ्चारकर्मीहरूलाई अपिल समेत गरेको छ ।