हेटौंडा, १६ जेठ ।

मकवानपुर कोभिड हेल्प डेस्कले आज मकवानपुरको थाहा नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रंी प्रदान गरेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको नेतृत्वमा,सदस्यहरु सरोज खनाल र ज्ञानेन्द्र कार्कीको टोली पुगेर स्वास्थ्य सहयोग सामग्री प्रदान गरेको हो ।


डेस्कले अक्सिजन कन्सन्ट्रेटर एक थान, मेडिकल माक्स १ हजार थान र सेनिटाइजर १० लिटर थाहानगरका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा थाहानगरका उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायतको उपस्थिति रहेको थियो । साथै टोलीले थाहानगरका पुराना व्यवसायी तथा कोभिड सङ्क्रमित गङ्गा विष्णु ढकाललाई भेट गरी च्यावनप्रास र मास्क प्रदान गरेको छ ।

हेल्प डेस्क टिमले हेटौंडा–९ का सङ्क्रमितहरूलाई घरमै पुगेर भेटेको छ । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख मीना लामाको उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य कुमार पौडेल, मउवासंघका सदस्य नरेन्द्र भण्डारी, सिनियर अहेब प्रविन पुडासैनी, अनमी दिव्या बस्नेत, हेटौंडा ९ नं. वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि, प्रहरी हवल्दार टोप बहादुर कुमाललगायतको सहभागिता रहेको थियो । टोलीले कोभिडको कारण ज्यान गुमाएका तीन जनाको परिवारसँग भेटघाट गरी समवेदना प्रकट गरेको थियो ।


यसैगरी शनिबार र आइतबार गरी चार सिलिण्डर अक्सिजन हेल्प डेस्कबाट वितरण गरिएको छ । हेटौंडा–६, रङ्गशालाका एकजना, हेटौंडा–१४, नया“ बस्तीका एकजना र हेटौंडा–१०, कर्राका एकजना गरी तीन जना बिरामीहरुलाई चार सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको हो ।

हेल्प डेस्कलाई क्रिकेट संघको सहयोग

हेल्प डेस्क मकवानपुरको अभियानलाई क्रिकेट संघ मकवानपुरले सहयोग गरेको छ । क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ र टिमले कोभिड हेल्प डेस्कको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघमै आई मउवासंघका उपाध्यक्ष गणेश भेटवाललाई रु. तीसहजार रकम हस्तान्तरण गरेको हो । क्रिकेट संघले आफ्नो कार्यसमिति र खेलाडीहरुबाट रकम संकलन गरी सहयोग गरेकोमा हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।