–प्रदीप ढुंगाना
यसपालिको बजेटमा पहिला मैले नै पढेका कुराहरु मलाई नै सम्झना नभएको र गुगलतिर खोज्न नभ्याएकाले छुटेको हुनसक्छ । तर यो बजेट फरक, चटपटे र जनमुखी भएको अत्यधिक गर्व गर्दै गणतन्त्र दिवसकै दिन क्रान्तिकारी र गौरवशाली बजेट भाषण प्रस्तुतिको अनुमति चाहन्छु । बुझिदिनु होला कि, समग्रमा सबैलाई समेट्न खोजेको छु, केही–कोही छुटेका होलान् । सबै उपशीर्षकहरु पनि पढ्न भ्याइनँ होला, सचिवालयमा आएर रातो किताबमा रातो धर्को लगाएर गइदिनुहोला, बजेट तत्तत् नामका खातामा नघट्ने अनुरोध गर्दछु । छुटेकाहरुलाई अतिरिक्त बजेटहरुमार्फत सम्बोधन गर्नेछु, प्रधानमन्त्री रोजगार कोषबाट पनि केहीको रोजीरोटी स्थानान्तरणका लागि म छदैँछु, अतः बजेट भाषण वाचनको अनुमति चाहन्छु ।
यसपटकको बजेट भाषणमा तरकारीमा फर्सीलाई नै निरन्तरता दिएको छु । तोरीको तेल र सनफ्लावर तेलको सट्टा के प्रयोग गर्न सकिने हो, श्रीमतीजीको अध्यक्षतामा उच्चस्तरीय कार्यदल गठन गरिनेछ । वर्तमान स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मुसुरोको दालमा मस्याङको दाल मिसाएर खान बजेटमै व्यवस्था गरेको छु । कुखुराकोको मासुमा आंशिक कटौती गरेको छु । खसीको मासुमा ४५% सम्म कटौती गरेको छु । हरेक छाकको खानामा हरियो भए हरियो र नभए बेसार हाल्न नपर्ने पहेँलो देखिने र भन्दा हरियो भनिने सागको नारालाई सार्थकता दिइनेछ ।
कोरोनाको तेस्रो लहरले प्रतीक्षा गरिरहँदा अक्सिजन प्लान्ट स्थापना गर्न भन्सार छुट गरेकै छु । प्रशस्त ज्वानोको झोल तथा बेसार पानीका लागि आवश्यक पुरानै बजेटलाई निरन्तरता दिएको छु । कोरोनाको महामारीमा बेसारको भाउ नबढाउनका लागि आवश्यक कारबाही र माथिल्ला निकाय तथा स्थानिय तहसम्म बेसार अनुगमन तथा नियन्त्रणका लागि थप बजेट विनियोजन गरेको छु । यति गर्दा पनि यदि आमनागरिकलाई कोरोनाले सताइहाले अस्पताल देखाइदेकै छु । आइसियु र भेन्टिलेटर पाउने नपाउने आआफ्नै क्षमता र थोरै भाग्यको खेल पनि हुन सक्छ । अझ एक महिना बाँचिहाले जोड्न खोजेको अक्सिजन प्लान्ट छदैँछ । सरकारले यति व्यवस्था गर्दा पनि मान्छे चुनाव नकुरी मरे घाटमा दाउरा र घाटेलाई भत्ताको जोहो गरेकै छु । परिवारलाई दुःख नहोस् भनेर सद्गद्का लागि परिचालन भएका सुरक्षाकर्मी अहिलेलाई नहटाइएको बेहोरा सादर अनुरोध छ । कृषिप्रधान देश भन्ने मूल नारालाई आत्मासात् गर्दै नियमित तरकारी रोपण तथा मलखादमा आवश्यक बजेट विनियोजन गर्नुका साथै निशुल्क मल नभए पनि ५० प्रतिशत छुटमा मल उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेकाले प्रतिवद्धता पुर्याउन थप १ अर्ब बजेट विनियोजन गरेको छु । चुनावमा चुनाव चिन्ह नबिर्सिउन् भनी वृद्धवृद्धाका लागि मासिक ४ हजार रुपैयाँ वृद्ध भत्ता र स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ता तथा महिला स्वास्थ्य स्वम्सेविकालाई शतप्रतिशत भत्ता मिलाइदिएको छु ।
चु्नावमा परिचालन गर्न र अन्य साथ सहयोगका लागि चाहिने जनशक्ति अर्थात् कर्मचारीतन्त्रलाई बलियो बनाउन गोटैपिच्छे समानुपातिक २ हजार रुपैयाँ वृद्धि गरेको छु । उद्योग, व्यापारहरुलाई स्थापित, बढावा र आर्थिक सुदृढिकरणका लागि हेटौंडाको बनेलधापमा जग्गा देखाइदिएकै छु । लिन चाहे दिने व्यवस्था मिलाइदेकै छु । घ वर्गका राजनीतिक कार्यकर्ताले सरकारी पैसा नदेख्न र ख वर्गकासम्मले पैसा कुम्ल्याए भन्ने जनगुनासोलाई मध्यनजर गर्द यसपालिदेखि संसद विकास कोष खारेज गरेको छु । देशमा शैक्षिक बेरोजगार धेरै भएको आमनागरिकलाई भन्दा बढी मलाई नै विदितै छ, बिहानदेखि क्वार्टरमा जागिर माग्न आउनेको लाइन घटाउन र विदेश जाने पनि नबढून् र तिनले पनि सरकारलाई माया गर्दै ऋण थपेर देशमै बसून् भनेर शैक्षिक कर्जा व्यवस्था गरेको छु । प्रविधि र सूचनामा सबैको पहुँच होस्, फेसबुक चलाउन् र टिकटक हेर्न तथा बढावा दिन विद्यार्थीलाई ल्यापटपमा ऋणको व्यवस्था मिलाइदिएको छु ।
यी सबै कुराको निगरानी गर्ने देशको चौथो अंग भनिने पत्रकार जगत अंगभंग नहोस् भनेर विमा र सरकारी अस्पतालमा निशुल्क सिटामोलको व्यवस्था मिलाएको छु । यति गरेपछि यो वर्गको पनि सम्बोधन हुने विश्वास र भ्रम पालेको छु । व्यापारीलाई बदलिँदो परिस्थितिमा संसद नभएकाले संसद विकासका लागि छुट्याइएको सांसद कोष खारेज गरी त्यो रकम शैक्षिक प्रमाण पत्र धितो लिई ऋण उपलब्ध गराएर खर्च गर्ने व्यवस्था गरेको छु । साइँला बाले लगाएको कृषि खेतीमा उब्जेको तरकारी बजारसम्म पु¥याउनलाई पातलो कालोपत्रे र बाटो कोतर्न पहेँला घोडा व्यवस्था गरेको छु । पहेँलो घोडा सकभर वडाध्यक्षहरुकै प्रयोगमा ल्याउनु होला । यति पनि गर्न नसके गाउँमै कृषि हाटबजार बनाउँछु भनेकै छु । समय समयमा स्थानीय सरकार हुँ भन्दै अघिपछि लाग्ने कर्मचारीका लागि २ हजार बढाइ मरिहाले १० लाख पाउने गरी विमा व्यवस्था गरेको छु । छुट्टी पाइएन भनेर कराउने सरकारी कर्मचारीलाई घुम्न जानका लागि थप १० दिन बिदा दिने व्यवस्था गरेको छु । यसलाई अध्ययन, अनुभव आदानप्रदान भ्रमण बाहेक अर्को शीर्षकमा प्रयोग गर्न पनि अनुरोध गर्दै आन्तरिक पर्यटनलाई बढावा दिनुहुनेछ भन्ने आसा पनि राख्दछु । देशको मेरुदण्ड भनेकै शिक्षा र स्वास्थ्य हो, गतपालिको भन्दा शिक्षा र स्वास्थ्यमा धेरै नै बजेट विनियोजन गरेको छु । आशा छ, शिक्षा यस्तो लिनोस् कि चुनाव चिन्ह हाम्रो बाहेक अरुको सम्झन सक्ने दिमाग नै नहोस् र स्वास्थ्यको अवस्था यस्तो बलियो बनोस् कि अरु दिन घरमै लकडाउन भोगेर बसे पनि भोट हाल्ने दिन बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा कोरोना बोकेरै पनि हेटौंडा पुगेर भोट हालेजस्तै तपाईं पनि भोट हाल्न सक्ने भइदिनुहोस् ।
सरकारले राम्रो काम गरे पनि नराम्रो समाचार लेख्ने पत्रकारलाई खुशी बनाउने उद्देश्यले विमा तथा उपचारमा उचित प्रबन्ध मिलाउन बजेट विनियोजन गरेको माथि भनिसकेको छु । यो वर्ष पनि धारे हात लगाएर गाली गर्नलाई नवीकरण छुट दिएको छु । कृषिप्रधान देशमा च्याउ भन्दा बढी उम्रेका मिडिया हाउसलाई नवीकरण छुट हुँदा गाली गर्नेहरु त्यता गएर कराउने भएकाले सडकमा जुलुश, आमसभा कम हुने र यातायात व्यवसायीको गाडी र पम्पको तेलको उधारो अब नबढ्ने विश्वास गरेको छु । पढाउन भन्दा बढी राजनीतिमा सक्रिय शिक्षकलाई इसिडि कक्षामा तलब वृद्धि गरेको छु । अस्पतालमा खाट नभए पनि घाटमा स्थान पाउनुपर्छ भन्ने मौलिक हकलाई सम्बोधन गर्न काठ तथा दाउराका क्षेत्रमा काम गर्नेका लागि सरकारले दाउराको माग गरी पशुपति क्षेत्रमा दाउरा अभाव हुन नदिन निशल्क दाउरा तथा लाश जलाउन सक्रिय टोलीलाई नियमित १ हजार भत्ता व्यवस्था माथि भनिसकेको छु । प्रदेश तथा स्थानीय सरकारलाई सजग बनाउन विशेष भ्रमण भत्ता व्यवस्था गरेको छु । विभिन्न प्रविधिमैत्री उपकरण खरिद गरी प्रविधिमा विकास गर्न सरकारका तर्फबाट विभिन्न पलहकदमी कायम राखी नापी तथा मालपोतमा लागेको कोरोनाको घारी नियन्त्रण गर्न मेरो कित्ता एममार्फत सबैलाई सहज सेवा उपलब्ध गराउने, यातायात बन्द भई कर तिर्न नपाएका इच्छुक नेपालीलाई करको दायरमा ल्याउन अनलाइनमार्फत सेवा प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।