हेटौंडा, १६ जेठ ।


उपभोक्ताका लागि सुपथ मूल्यमा सामानहरू उपलब्ध गराउन मकवानपुर जिल्ला सहकारी संघले हेटौंडा ९ मा सुपथ मूल्य सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले हेटौंडा ९ मा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । विभिन्न सहकारीका उत्पादन, स्थानीय उद्योगका उत्पादनलगायत दैनिक आवश्यकताका खाद्यान्न तथा अन्य बाथरूम सफाइसँग सम्बन्धित सामानहरू पसलबाट बिक्री भइरहेको संघका अध्यक्ष रामहरि न्यौपानेले बताउनुभयो ।


हाल सुपथ मूल्य पसलले तरकारी पनि बिक्री गरिरहेको छ । कोभिडका कारण भएको निषेधाज्ञाले तरकारी उपलव्ध हुन नसकेको बेला सहजीकरण गर्ने उद्देश्यले तरकारीको समेत बिक्री गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।


लकडाउनको कारण हाल पसल बिहान करिब डेढ घण्टा मात्र खालिएको र दैनिक २५ देखि ३० हजारसम्मका समान बिक्री भइरहेको उहाँले बताउनुभयो । सहकारीको उत्पादन बजारीकरण गर्ने उद्देश्य र न्युनतम मुनाफा राखेर बिक्री गरिने भएकोले मूल्य नियन्त्रणमा यसले सघाउ पुगेको न्यौपानेको भनाइ छ ।


मूल्य अभिवृद्धि करमा दर्ता गरी सञ्चालन भएकोले राजस्वमा समेत प्रत्यक्ष योगदान पुग्ने उहाँले बताउनुभयो । “हाल ३ ओटा कोठा भाडामा लिई १ जना तलबी कर्मचारी र मलगायत नारायणी सहकारी संस्थाका ३ जना अन्य कर्मचारिकोको भोलेन्टियरमा पसल सञ्चालन गरिएको छ ।” न्यौपानेले भन्नुभयो ।


संघको सेयर पुँजी १ लाख १० हजार र बचत ७ लाख मात्र रहेकोले चालु पुँजी र भौतिक व्यवस्थापनमा कठिन भएको अध्यक्ष न्यौपानेले बताउनुभयो। व्यवसायीबाट क्रेडिटमा लिएको समानको पैसा समयमा भुक्तानी गर्न कठिनाई भइरहेको उहाँले बताउनुभयो।