हेटौंडा, १५ जेठ ।


नवसर्जक साहित्य चौतारी नेपालद्वारा आयोजित राष्ट्रव्यापी माध्यमिक तहस्तरीय कविता प्रतियोगिता आज भर्चुअल माध्यममार्फत सम्पन्न भएको छ ।


गत वर्ष जेठ १ गतेदेखि सुरु भएको नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सहभागी देशभरका ३० कविमध्येबाट छानिएका १० उत्कृष्ट कविहरूको कविता वाचन आज सम्पन्न भएको हो ।


प्रतियोगितामा कपिलवस्तुस्थित श्री मावि कक्षा–११ का छात्र शिरीष बन्जाडे, कपिलवस्तुकै चिल्ड्रेन प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल कक्षा–६ की जोशिका कँडेल “निशा“ र मकवानपुरस्थित जी. एस. निकेतन मावि कक्षा–१० की रोशनी चौलागाईँ उत्कृष्ट ३ मा पर्न सफल भए ।


उत्कृष्ट ३ कविहरूलाई नगद तीन हजारसहित प्रमाणपत्र र केही थान साहित्यिक कृतिसहित पुरस्कृत गरिने आयोजक नवसर्जक साहित्य चौतारी नेपालका उपाध्यक्ष विभूति अधिकारीले बताउनुभयो ।
प्रतियोगिता चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता तथा साहित्यकार एवम् समालोचक डा. नेत्र एटमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा कविहरू प्रोल्लास सिन्धुलीय, टीका आत्रेय र सुदेश सत्यालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको चौतारीका संरक्षक दीपक गौतमले बताउनुभयो ।


कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्रतियोगिताकी पुरस्कार व्यवस्थापक बिन्दा पराजुली बराल, राम अविकास, चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकारहरू रमेशमोहन अधिकारी, डिबी बर्ताैला, ओमकुमारी बन्जारा रानाभाट, अर्चना दाहाल, जयन्ती आचार्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीलगायत प्रतियोगी १० कविहरूको उपस्थिति रहेको थियो ।