हेटौंडा, १५ जेठ ।
सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्र र संविधानमाथि सङ्कट आइलागेको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले सर्वोच्च पदमा रहनेहरुकै कारण गणतन्त्र र संविधानमाथि सङ्कट आएको बताउँदै यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको उल्लेख गर्नुभएको छ ।
संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने सापकोटाको भनाइ छ ।
संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भनेर सापकोटाले कामना पनि गर्नुभएको छ ।
नेपाल आमाका हजारौँ होनहार छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको सापकोटाले बताउनुभएको छ ।