हेटाैँडा, १४ जेठ । पल्पसा परिसरमा पल्पसा आइसोलेसन सेन्टर सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ ।
पल्पसा परिसरमा आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको र आइतबारसम्ममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आइसोेलेसन सञ्चालन गर्ने अनुमति प्राप्त हुने वातावरण बनेको हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले बताउनु भयाे ।
मकवानपुर जिल्लाका निजी अस्पताल सञ्चालक संघबाट संक्रमितहरुको लागि बेडको व्यवस्था र अन्य सहयोगसमेत हुने भएको छ । शुक्रबार भएको छलफलमा निजी अस्पताल सञ्चालक संघका अध्यक्ष विष्णु गोपाल महर्जन, नारायण श्रेष्ठ, डाक्टर बसिम, सञ्चो हस्पिटलका अध्यक्ष तथा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बाँनिया, हेटौंडा मोडल अस्पतालका प्रतिनिधि, मउवासंघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अध्यक्ष सल्लाहकार नरोत्तम दाहाललगायतको सहभागिता थियो ।
यस्तै, मकवानपुर बचत तथा ऋण सहकारी संस्थाबाट आइसोलेसनको लागि जेनेरेटर उपलब्ध गराइने भएको छ ।
शुक्रबार हेल्प डेस्क टोलीले पल्पसामा आइसोलेसन सञ्चालन गर्दा आवश्यक पर्ने पूर्वाधारहरुबारे छलफल गरेको छ । स्थलगतरुपमा पल्पसामा टोली खटिई आवश्यक पूर्वाधारहरु सिघ्र व्यवस्था गर्न छलफल भएको छ ।
हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु सरोज खनाल, बद्रि चौलागाई, रामकुमार एलन, मउवासंघका कानूनी सल्लाहकार ईश्वरराज ढकाल, सिनियर अहेब प्रविन पुडासैनी, अनमी दिव्या बस्नेतलगायतको टोलीले स्थलगत अवलोकन गरेको हो । हेल्प डेस्कका सदस्य कृष्ण प्रणामी समाजले व्यवस्थापन गरिरहेको खाना वितरण कार्यक्रमको शुक्रबार हेल्प डेस्कको टोलीले स्थलगत अवलोकन गरेको छ । पल्पसामा आइसोलेसन सञ्चालन गर्दा खाना व्यवस्थापनको सम्बन्धमा छलफल गरिएको थियो ।
वर्षातको कारण घरदैलो कार्यक्रम प्रभावित भएपनि शुक्रबार ७० जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । फोनमा सबै संक्रमितहरुले घरमै रहेको बताउनु भएको थियो । हेल्प डेस्कका दुईजना स्वास्थ्यकर्मीबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने, परामर्श दिने र समस्या पर्दा सम्पर्कमा आउन आग्रह गरिएको थियो ।