• राजकुमार के.सी.
    थाहा नगरपालिका, १४ जेठ । थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले मौसमविद्हरुले जेठ १५ सम्म भारी वर्षा, हावाहुरी, चट्याङ समेतको सम्भावना भइ उच्च जोखिम हुने पूर्व अनुमान गरेअनुसार लगातार पानी परिरहेको र यसले मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकोले सचेत रहन वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

वडाध्यक्ष मुक्तानले सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा प्राकृतिक प्रकोपको पनि डर भएकोले सुरक्षित रहन र कुनै समस्या भएमा वडा कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभएको हाे ।

मुक्तानले प्राकृतिक प्रकोपबाट उत्पन्न जोखिमको उचित व्यबस्थापन गर्न वडा कार्यलय तयार रहेको बताउनु भएको छ ।

कुनै समस्या भए नजिकका जनप्रतिनिधिलाई जानकारी गराई आफू र छिमेकीलाई सुरक्षित राख्न वडा सदस्य दीपेन्द्र कुमार थिङले अनुरोध गर्नुभएको छ ।

यस्तै, थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीले पनि प्राकृतिक प्रकोपका कारण बासस्थानको समस्या हुने वडाबासीलाई वडा कार्यालयको सम्पर्कमा आउन आग्रह गर्नु भएकाे छ ।

गोपालीले सामाजिक सञ्जाल फेसबुक मार्फत बासस्थान जोखिममा छ भने जोखिम मोलेर नबस्न आग्रह गर्दै जोखिमबारे खबर गर्न आग्रह गर्दै उचित बसोबासको व्यवस्था गरिने बताउनु भयाे ।