-उत्सब चौलागाईं 

यो झिसमिसे
यो वर्षात्
अलिमाथि सैलुङजस्तै देखिने डाँडा
त्यसको फेदैफेद दौडिहिँड्ने बादल
झ्यालको खापामा
ढेस्सिँदै भित्र छिर्ने बाछिटा
यी सबै सबै तिम्रा याद हुन् ।

तिमी पहिलोपटक
रुझेको सम्झन्छु
झरी छेलिन
मेरो छातीको ओत लागेको
लागेको सम्झन्छु ।

अनायासै बढेर
आएको तिम्रो ढुकढुकी
एक्कासि उर्लिएको स्वासप्रस्वास
पसिनाको चिट्चिटाहटले भिजेको म
यी सबै सबै अचानक भए
र अचानक नै बिते ।

माथि बादल झुन्डिरहेको आकाश हेर्छु
तँछाडमछाड गर्दै
खसिरहेका थोपाहरू हेर्छु
थोपा थोपाहररू धुरिएर रमाउँदै
उँधो कुदिरहेको हेर्छु
भर्खरै फुलिरहेका
आरु बखडाका फूलहरू
बैँशालू वर्षातले लुछिरहेको हेर्छु
यी सबै सबै एकै खेप भइरहेछ
र एकै खेपमा सकिरहेछन् ।

तर
तिमी अनि
तिम्रो याद
थाहा छैन
अझै कति झरिसम्म साथ रहन्छ
कति थोपाहरुको नदी भएसम्म रहन्छ
कति भुइँफूलको जीवनसम्म रहन्छ
गुराँसले कति खेप बैँस फेरेसम्म रहन्छ
या मैले कति पटक सास फेर्नुपर्छ
तिमीलाई हमेशा सम्झिरहनलाई ।

यसरी आइपुग्छौ अचानक तिमी
न त हटाउन सक्छु तिमीलाई
न त अटाउन सक्छु तिमीलाई
न त मेटाउन सक्छु तिम्रो यादहरूलाई
सिर्फ आफुभित्रै अटाएर राख्न विवश छु ।

चुपचाप !
सायद तिम्रो यादहरूसँगै
हराइरहन बानी पर्नु छ अब
जसरी वर्षातले उर्बर बनाउँछ बन्जर माटोलाई
उसै गरी उर्बर याद तयार गर्न रुझ्नुछ
अझै सम्झनाहरूमा !