हेटौंडा, १४ जेठ ।


हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले अहिले वार्षिक परीक्षाको नतिजा तयारी तीव्र पारेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले केही दिनअघि सूचना जारी गर्दै जेठ २० गतेभित्र कक्षा ८ र १० बाहेकका अन्य कक्षाहरूको वैकल्पिक विधिबाट परीक्षा लिई नतिजा निकाल्न निर्देशन दिएपछि विद्यालयहरूले नतिजा तयारी तीव्र पारेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाले सम्भव भएसम्म भर्चुअल माध्यमबाट परीक्षा लिन र सम्भव नभए त्रैमासिक परीक्षाका आधारमा वा निरन्तर मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न जेठ ५ गते निर्देशन दिएको थियो ।

विद्यालयहरूले वार्षिक परीक्षाको तयारी गर्दै गर्दा कोरोना सङ्क्रमण हुन थालेपछि विद्यालयहरू बन्द भएका थिए । अहिले विद्यालयहरूले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम परीक्षा लिई वार्षिक परीक्षाको नतिजा प्रकाशनको तयारी गरेका हुन् ।

भौतिक उपस्थितिमा परीक्षा सम्भव नभएपछि कतिपय संस्थागत विद्यालयहरूले अनलाइन माध्यमबाट परीक्षा लिएका छन् । भने कतिपयले त्रैमासिक परीक्षाका आधारमा नतिजा प्रकाशन गरी अनलाइनमार्फत नयाँ शैक्षिक सत्रको पढाइ समेत शुरू गरिसकेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित फेमकोल एकेडेमीले अहिले अनलाइन परीक्षा लिइरहेको विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक केशवप्रसाद मुडभरीले बताउनुभयो । उहाँले सरकारले जेठ महिनाभर यसवर्षको शैक्षिकसत्र रहेकाले अहिले अनलाइनमार्फत परीक्षा सुरु गरेको र असारको पहिलो हप्ताबाटमात्र नयाँ शैक्षिक सत्रको कक्षा सुरु गर्ने बताउनुभयो । तर हेटौंडाका अधिकांश संस्थागत विद्यालयले नयाँ कक्षा सुरुआत गरिसकेका छन् ।

यता सामुदायिक विद्यालयहरूले भने असारको पहिलो हप्ताबाट नयाँ शैक्षिकसत्रको कक्षा सुरु गर्ने तयारी गरिरहेका छन् । जेठ २० गतेभित्र यस शैक्षिक सत्रको नतिजा प्रकाशन गरेपछि असार पहिलो हप्ताबाट नयाँ कक्षाको तयारी गरेका हुन् ।

सामुदायिक विद्यालयहरूले अहिले पहिलो र दोस्रो त्रैमासिकलाई ३०÷३० प्रतिशत अङ्कभार र निरन्तर मूल्याङ्कनलाई ४० प्रतिशत अङ्कभार आधार बनाएर नतिजा निकाल्ने तयारीमा छन् । हेटौंडाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको केही दिनअघि भएको भर्चुअल बैठकमा एउटै मोडलमा रिजल्ट प्रकाशन गर्ने निर्णय भएको थियो ।

यसका लागि पहिलो त्रैमासिकलाई ३० प्रतिशत र दोस्रो त्रैमासिक परीक्षालाई ३० प्रतिशत अङ्कभार र परियोजना गृहकार्य, निरन्तर विद्यार्थी मूल्याङ्कनलगायतलाई आधार बनाइ ४० प्रतिशत अङ्कभारका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिरहेका छन् ।

नतिजा तयारी अन्तिम चरणमा पुगेको महेन्द्र मावि पदमपोखरीका प्रधानाध्यापक विष्णु श्रेष्ठले बताउनुभयो । सूचना प्रविधिका माध्यमबाट नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो । जनजागृति मावि हेटांडा १५ रातोमाटेले पनि वार्षिक नतिजा तयारी गरिरहेको विद्यालयका शिक्षक मानकुमार दाहालले बताउनुभयो ।

यसैगरी प्रगति मावि हेटौंडा ९ ले पनि कक्षा ८ बाहेकका अन्य कक्षाको नतिजा तयारी अन्तिम चरणमा पु¥याएको प्रधानाध्यापक निरन्जप्रसाद ढकालले बताउनुभयो । अब केही दिनमा विद्यालयको वेबसाइटमा नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो ।

कक्षा ८ को आधारभूत तहको परीक्षाका लागि पनि हेटौंडा उपमहानगरपालिकाले छुट्टै कार्यविधि तयार गरी विद्यालयहरूलाई सूचना गरिसकेको छ । वैशाख १९ गते आधारभूत तह कक्षा ८ को परीक्षा लिने तयारी उपमहानगरपालिकाले गरेको थियो ।


नतिजा प्रकाशन गर्दा ग्रुप म्यासेज, मोबाइल फोन, भाइबर, इमेल म्यासेन्जर च्याटका आदिका माध्यमबाट गराउन हेटौंडा उपमहानगरपालिकाले सूचना जारी गरिसकेको छ । समाजिक सञ्जालबाट नतिजा प्रकाशन नगर्न आग्रह गर्दे गर्नु परेमा विद्यार्थीको नाम प्रकाशन नगरी सिम्बोल नम्बर वा रोलनम्बर मात्र प्रकाशन गर्न सूचनामा आग्रह गरिएको छ