हेटौंडा १३ जेठ ।


बागमती प्रदेश सरकारको आयोजनामा आज बसेको सर्वदलीय बैठकमा सरकारका कामको चर्काे आलोचना भएको छ । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सरकारको कामको आलोचना गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलको आह्वानमा ललितपुरको जावलाखेलस्थित सुशासन केन्द्रको भवनमा बसेको बैठकमा बागमती प्रदेशकासभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।


नेपाली कांग्रेस माओवादीकेन्द्र लगायतका दलहरूले कार्यविधिविना मदन भण्डारी फाउण्डेसनलाई बागमती प्रदेश सरकारले ५० लाख दिएकोमा आपत्ति जनाएका छन् । फाउण्डेसनलाई दिइएको सो रकम फिर्ता गर्न कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले माग गर्नुभयो ।


माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले पनि मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख रुपियाँ सरकारले फिर्ता दिनुपर्ने माग गर्नुभयो ।
यसैगरी बैठकमा जेठ १६ गतेको लागि बोलाइएको बजेट अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ ।


बैठकमा सहभागीहरूले आगामी आर्थिक वर्षको बजेटमा प्रदेशका सबै जिल्लामा कोरोना विरुद्ध लड्न नयाँ योजना बनाउन माग गरेका छन् ।