हेटौंडा, १३ जेठ ।
नेपाल तरुण दल मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना असंवैधानिक कदम नसच्याए कठोर कदम चाल्ने चेतावनी दिएको छ । तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले चालेका सबै कदम असंवैधानिक रहेको भन्दै तत्काल सच्याउन आग्रह गरेको छ ।
विज्ञप्तिमा जेठ ७ गतेको प्रधानमन्त्रीको कदम ओलीको २०७७ पुस ५ गतेको असफल संसद विघटनकै निरन्तरताको रुपमा व्याख्या गरिएको छ ।
ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नै नदिई आफूसँग भएको संसदको विश्वास लिन सक्ने परिस्थिति नभएको भन्दै राष्ट्रपति राष्ट्रपतिसमक्ष अनुरोध पेश गर्नु र राष्ट्रपति विद्यादेवी भण्डारीले सोही अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनको लागि आधार प्रस्तुत गर्नु, प्रतिनिधिसभा सदस्यलाई आह्वान गर्नु आफैंमा असंवैधानिक कदम भएको तरुण दलको ठहर रहेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले नियोजित कदम चालेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सुरुदेखि नै पूर्वाग्रह राख्ने ओलीले असंवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अघि बढाउने दुष्कार्य गरेको आरोप लगाइएको छ ।
देशको सर्वोच्च सम्माननीय संस्थालेसमेत ओलीका असंवैधानिक कदमको एक पछि अर्को गर्दै मतियार बन्दै आएकोप्रति चिन्ता व्यक्त गरिएको छ । ओलीको कदमविरुद्ध दवाव सिर्जना गर्न आम नेपालीलाई आग्रहसमेत गरिएको छ ।