हेटौंडा १२ जेठ ।


मकवानपुरका राजनीतिक दलहरुले मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालित मकवानपुर कोभिड हेल्प डेक्सले राम्रो काम गरिरहेको भन्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा दलका प्रतिनिधिहरुले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रबाट भइरहेकामा प्रशंसा पनि भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रेमबहादुर पुलामीले राज्यले सङ्कटकाल लगाएर कोरोना नियन्त्रणको प्रयास गरेको जस्तो मात्र देखाइरहेको र निजी क्षेत्रबाट उल्लेख्य काम भइरहेको बताउनुभयो ।


नेपाली कांग्रेस हेटौँडा नगर सभापति आनन्द पराजुलीले राज्यले कोरोना नियन्त्रणमा हल्ला बढी र काम कम गरेकाले निजी क्षेत्रले सामाजिक काम गर्नु परेको बताउनु भयो ।

छलफलमा राप्रपा मकवानपुरका सचिव सागर थापा, मकवानपुर उद्योग वाणिज्य संघका माधव न्यौपाने, कृष्ण अग्रवाल, नारायणी संघका महासचिव सरोजकुमार खनाल, होटल एसोसियसनका शंकरलाल श्रेष्ठ, उपभोक्ता अधिकारवादी बासु खतिवडा, सामुदायिक सेवा केन्द्रका राम विष्टले कोरोना नियन्त्रणमा भइरहेको कामबारे दलहरूलाई जानकारी गराउनु भएको थियो ।