हेटौंडा, १२ जेठ । मान्छे अचेल ‘फ्युज’ गएको जस्तो हुन्छ, कसैलाई देख्यो कि टाउको कन्याउन थाल्छ, यो मान्छेलाई मैले कहाँ देखेको ? एकछिन कन्फ्युज हुन्छ । उम, बाटोमा कतै देखेँ, भजन, सप्ताहमा हो कि, फिल्म हलमा त होइन, कतै आमसभामा हो कि ? कहाँ देखेँ, आफैँसँग झनक्क हुन्छ, उम, टिकटकमा हो कि, युट्युबमा हो कि, फेसबुकमा हो कि इन्स्टामा ? हो, हामी कम सम्झने भएका छौँ भन्दा तपाईंलाई चित्त दुख्ला आधा सम्झने भएका छौँ भनौँ न ।

हेटौंडाको हुप्रचौरतिर हो भने एउटा मोटरसाइकल पसलमा बसिरहेका यी युवालाई देख्नुहुन्थ्यो लकडाउन अगाडि । उम्, नेपाली कांग्रेस मकवानपुरको कार्यक्रममा पनि देख्नु भयो होला । हो, सडकमा आन्दोलन, पुत्ला जलाउनेतिर पनि देख्नु भयो होला यो युवालाई । दाहिने पाखुरामा ट्याटु । अग्ला, निडर । राजनीतिमा लिडर । भिडहरुमा एउटा फरक अनुहार ।

फेसबुकतिर सर्च गर्नु भयो भने तपाईंलाई लाग्छ, यो मान्छेको कुनै म्युजिक भिडियो छ ? नयाँ, फरक र महँगै गाडी र बाइकको प्रमोसनसँगै आफ्नो हुलिया आएको छ । कुनै म्युजिक भिडियोको हिरो पो हो कि ? हो, खानदानी हुलिया, शौकत पनि छ । छातिमा टाटु छ, पाखुराका त सबैले देख्ने नै भए । हो, खाइलाग्दो, लोभलाग्दो, फेसबुकमा रिक्वेस्ट पठाउँपठाउँ पार्ने हुलिया छ । फेसबुकको अलि तलतिर गए तस्बिरहरुले भन्छ, यो मान्छे कांग्रेसको हो । पार्टीका कार्यक्रम, आन्दोलन, मसाल जलाउने, नेतासँग फोटो खिच्ने, खबरदारी गर्ने केही काम बाँकी राखेको छैन । पक्कै कांग्रेसको ठूलै नेता हुनुपर्छ, या अब आउने चुनावमा केही न केही उम्मेदवार हुन्छ–हुन्छ । तपाईंको अनुमान यस्तै हुन्छ ।

हो, यिनी हुन् सुनील गिरी, हेटौँडा–५ का । नेपाल तरुण दल हेटौंडा उपमहानगर सभापति पनि हुन् । प्रधानमन्त्रीको कदमविरुद्ध सडक आन्दोलनमा पनि मसाल, पुत्लासहित भेटिन्छन् फेसबुकमा पनि भूगोलमा पनि । तर पछिल्लो समय उनी निस्वार्थ ढंगले सामाजिक अभियानमा लागेका छन् ।

प्रशंसक, साथीभाइहरु उनलाई फेसबुकमा ब्रान्डिङ गरिरहेका छन्, प्रमोसन गरिरहेका छन्, बजारमा नयाँ हिरोका रुपमा । कतै पानीको जार र कार्टुन बोकेर हिँडिरहेका छन् । कतै अक्सिजन सिलिण्डर उचालिरहेका छन् । कतै स्वास्थ्य सामग्री जुटाएर हिँडिरहेका छन् । कतै चामलको बोरा बोकेर गरिब र विपन्नकहाँ पुगिरहेका छन् । उनको दैनिकी यस्तै छ अचेल । गरेको कामको उनले भन्दा बढी शुभचिन्तक, साथीभाइ र केही कार्यकर्ताले प्रमोसन गरिदिन्छन् सामाजिक सञ्जालमा । बिहानै उठ्यो, को भेटिन्छ, मतलब छैन । तरुण सभापतिले फर्मल ड्रेस लगाएर भाषण दिने होइन, सामाजिक काममा जुट्ने हो, त्यसैले टिशर्ट र हाफ पेन्टमै घरि पार्टीका ठूला नेता, घरि प्रदेशका मन्त्री त प्रदेशस्तरीय कार्यालयका हाकिम, बडाहाकिमकहाँ पुग्छन् । त्यहाँ उनी भन्दैनन्, म तरुण सभापति । भन्छन्, ‘एक अभियान्ता, जनताले दुःख पाए, अस्पतालमा एक्सरे छैन, जनताको घरमा चामल छैन, कसैलाई एउटा माक्स पनि छैन, बिरामीलाई अक्सिजन छैन ।’

बिहानै उठेर बजार निस्कनु, नेपाली कांग्रेसको कोभिड हेल्प टिमको काम गर्नुका अलावा समाजमा अभाव के छ, अस्पतालमा समस्या के छ भनेर सूचना लिनु अनि त्यसैमा भौँतारिनु सुनीलको दैनिकी बनेको छ । ‘कोरोना संक्रमितले उपचार नपाएर मर्न नपरोस्,’ भन्छन्, ‘सकेको सहयोग गरौँ, भोलि के हुन्छ, के थाहा छ र ?’

घरमा छुट्टै बास
हेटौंडा–५ का निबासी सुनीलको पारिवारिक दैनिकी अरुको भन्दा सहज पनि छैन । पत्नी ब्रेन ट्युमरकी बिरामी । लकडाउनले ब्रोइलर कुखुरा थुनिए झैँ भएका उमेरका छोराछोरी । बाबु बिहानदेखि लखरलखर डुलुवा त्यो पनि कोरोना संक्रमित खोजी–खोजी । आन्दोलन, जुलुश, अस्पतालको भिडभाड नभनी । ‘सचेतता अपनाएको छु,’ सुनिल भन्छन्, ‘मेरा कारण परिवारलाई समस्या नपरोस् भनेर हामी चार जना छुट्टाछुट्टै कोठामा बस्छौँ, अहिलेसम्म सुरक्षित छौँ ।’

संक्रमितकहाँ चियापान
एक जमाना थियो । मान्छेहरु एचआइभी एड्स संक्रमितको घरको धूँवा आयो भने पनि एड्स सर्छ भनेर छिःछिः र दूरःदूरः गर्थे । अहिले त्यो भन्दा बढी विभेद छ कोरोना संक्रमितलाई । कोरोना भनेपछि डराउने, भाग्ने, नबोल्ने, नभेट्ने, औषधिपानी छ कि छैन, नबुझ्ने, नसोध्ने तर फेसबुकमा चैँ ‘माइ डियर, इन्टिमेट, गेट वेल सुन, यु विल कोरोना’ भनेर लेख्ने फेसन चलेको छ । संक्रमितको पीडा उस्तै छ । घरपरिवारबाट टाढा अनि सेवा र परामर्शको अभाव । समय कटाउनै गाह्रो । संक्रमितको परिवारलाई नै विभेद ।

कसरी हटाउने त विभेद ? सुनीलको नयाँ आइडिया छ, संक्रमितको घरमा जाने, कुराकानी गर्ने, सरसहयोग जुटाउने । अनि संक्रमितको घरमा चिया पकाउन लगाउने, पिउने फर्कने । यसले दुई वटा काम गर्छ, एकातिर संक्रमितलाई हौसला र आत्मबल अर्कातिर समाजमा विभेद गरेर बोल्नै डराउने समाजलाई पनि सन्देश । भन्छन्, ‘संक्रमितको घरमा चिया पिउने आदत भइसक्यो, मर्न लेखेको छ भने जे पनि हुन सक्छ, कोरोनाको के डर ?’ तर सावधानी अपनाउन भने सुनीलको अनुरोध । न कुनै राजनीतिक स्वार्थ न कुनै व्यापारिक कारोबार । कोरोना कहरमा स्वार्थ नील राखेर काम गर्ने सुनीलका लागि यति शब्द कमै होला, तर यसपटक यति नै । सबै तस्बिरहरु सुनील गिरीको फेसबुकबाट लिएका हौँ ।