हेटौंडा, ११ जेठ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलले प्रदेश सभामा सशक्त र रचनात्मक भूमिका निर्वाह गर्ने भएको छ । संसदीय दलको आज भएको भर्चुअल बैठकमा यस्तो निर्णय भएको हो ।
बैठकले दलको विधानलाई आवश्यक संशोधनसहित पारित गरेको प्रदेशसभा सदस्य कुमारी मोक्तानले बताउनुभयो । बैठकमा माओवादी केन्द्रका बागमती प्रदेशसभा सदस्य सबैको उपस्थिति रहेको उहाँले बताउनुभयो ।
शक्तिखबरसँगको कुराकानीमा उहाँले अबको प्रदेशसभा बैठकमा आफूहरूले पहिलादेखि नै राख्दै आएको विषयलाई जोडदार रुपमा उठाउने बताउनुभयो ।
आफूहरूले विद्युतीय बस सञ्चालन गर्नका लागि त्यसका पूर्वाधारहरू तयार गर्नुपर्ने कुरा राख्दै आएको भन्दै त्यसका लागि पहिला चार्जिङ सेन्टर तथा विद्युत बस सञ्चालन हुने रुट तय गर्न सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
बागमती प्रदेश सरकारले आगामी बजेटमा विद्युत बस सञ्चालनको लागि बजेट विनियोजन गर्दै छ । यसैगरी सुरुङमार्ग निर्माणको विषयमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारले मदनभण्डारी फउण्डेसनलाई बजेट छुट्याएकोमा आपत्ति जनाउनुभयो । यो कस्तो संस्था हो ? आफूहरूले नचिन्ने भन्दै उहाँले यस्ता संस्थाहरू अरू पनि रहेको र तिनलाई बजेट दिन कि नदिने भन्नुभयो ।
अबको बजेटले विशेषगरी कोरोना नियन्त्रण तथा रोकथामलाई लक्षित गरी कार्यक्रम ल्याउनुपर्ने बताउँदै उहाँले सङ्क्रमितहरूले उपचार तथा अक्सिजन नपाइरहेको अवस्थामा प्रदेश सरकारले गरेको काम चित्त बुझ्दो नभएको टिप्पणी गर्नुभयो ।
प्रदेश सरकारले बजेटको तयारी गरिरहेको भए पनि आफूहरूसँग अहिलेसम्म कुनै सल्लाह सुझाव नलिएको मोक्तानको भनाइ छ ।
उहाँले शिक्षा स्वास्थ्य रोजगार तथा पूर्वाधार विकास लक्षित बजेट ल्याउन आफूहरूले अबको प्रदेशसभा बैठकमा आवाज उठाउने बताउनुभयो ।
बागमती प्रदेश देशको बेन्द्रीय राजधानी भएको र बलियो प्रदेश भए पनि व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको बताउनुभयो ।
प्रदेश सरकारले विपक्षी दलहरूको कुरै नसुनी एकलौटी रुपमा सरकार सञ्चालन गुनासो गर्नुभयो ।