हेटौंडा, ११ जेठ
मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरबाट मंगलबार २ थान अक्सिजन सिलिण्डर निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हेटौंडा १० कर्रामा एक थान र हेटौंडा ६, रंगशालामा एक थान पठाइएको हो ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले मंगलबार पनि संक्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै यथोचित सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्धक च्यावनप्रास तथा मेडिकल मास्क वितरण गरिएको छ ।
कोरोनाको कारण दुई जना मृतकको घरमा पनि टोली पुगेको थियो । मंगलबार दुई पटक टोलीले घरदैलो कार्यक्रम गरेको बताइएको छ । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाको उपस्थिति रहेको थियो ।
हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरू सरोज खनाल, भुवनलाल श्रेष्ठ, बासु खतिवडा, रामकुमार एलन, राम विष्ट, सिनियर अहेब प्रविन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी जवान लिला गुरौ, राजाराम बोगटीलगायतको सहभागीता रहेको थियो ।
व्यवसायी सिताराम बर्तौलाबाट ‘कान्छीदेवी÷सिताराम बर्तौला, बुहारी÷छोरा सुष्मा÷शिवजी बर्तौला तथा बिन्जु÷ओम बर्तौला र नातिनी नाति साइना, सनैया, सुभान्सु बर्तौला–ओम साइराम’ नाम रहने गरी कोभिड हेल्प डेस्क मकवानपुरले गर्ने सेवा कार्यको लागि रु. एकलाख नगद सहयोग गर्नुभएको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरद्वारा सञ्चालित एम्बुलेन्सबाट कोभिड संक्रममित अनुमान गरिएका हेटौंडा ९ निवासी चित्र बहादुर थापा मगरलाई हेटौंडा अस्पतालमा ल्याइएको उपचारको क्रममा मंगलबार दुःखद निधन भएको छ ।
त्यसैगरी मंगलबार ३८ जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरूको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । सबै संक्रमितले आफू घरमै आइसोलेसनमा रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका दुईजना स्वास्थ्यकर्मीबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको हो ।