हेटौंडा ११ जेठ

मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज इराक जाँदै छ ।

२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज राति इराक जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

आज राति १० बजे इराक प्रस्थान गर्ने टिमका सबै जनाको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ ।

नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत मङ्गलबार मकवानपुरे फुटबल खेलाडी अन्जन विष्ट र सुनिल बलसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।

मकवानपरे खेलाडी सुनिल बल मिडफिल्डरमा र अन्जन विष्ट, फरवार्डबाट खेल्दै छन् ।

प्रशिक्षक अलमुताईरीले नेपाली टिममा परिवर्तन गरेका छन् ।

सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्ने छ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्ने छ ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छ ।