हेटौंडा, ११ जेठ ।
मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्कबाट सोमबार २ थान अक्सिजन सिलिण्डर निःशुल्क वितरण गरिएको छ । हेटौंडा–२ मा एक र कान्तिराजपथमा एक गरी जम्मा दुई थान वितरण गरिएको हेल्प डेस्कका सचिवालय संयोजक कृष्णकुमार गुप्ताले जानकारी गराउनुभएको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सोमबार पनि सङ्क्रमितको मनोबल बढाउने, आवश्यकता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै यथोचित सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्धक च्यावनप्रास तथा मेडिकल मास्क वितरण गरिएको थियो ।
साथै चौकीटोलस्थित प्रहरी चौकीमा २०० थान मास्क सहयोग गरिएको थियो । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरु सरोज खनाल, भुवनलाल श्रेष्ठ, वासु खतिवडा, शंकरलाल श्रेष्ठ, रामकुमार एलन, सिनियर अहेब प्रवीन पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार टोप बहादुर कुमाललगायतको सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले सहजीकरण गर्नुभएको थियो । मङ्गलबारदेखि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाको उपस्थितिमा नगरका वडाहरूमा घरदैलो कार्यक्रम गर्ने तय गरिएको छ ।
व्यवसायी अनिलभक्त श्रेष्ठले १५ लिटर मट्टितेल कोभिड हेल्प डेस्क मकवानपुरलाई सहयोग गर्नुभएको थियो । यसैगरी सोमबार ७२ जना कोभिड सङ्क्रमितहरूलाई फोन सम्पर्कमार्फत स्वास्थ्य अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरूबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको हो ।