हेटौंडा, १० जेठ ।

वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।
शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित नेता नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

नेता भीम रावलले स्पष्टीकरणको जवाफ दिन जरुरी नभएकाले आफ्नो समूह नदिने निष्कर्षमा पुगेको बताउनुभएको छ ।
केपि ओली आफै अवैधानिक भैसकेकोले उनले सोधेको स्पष्टीकरणको कुनै अर्थसमेत नभएकाले जवाफ दिन जरुरी नठानेको रावलको भनाइ छ ।

उहाँले एमाले पार्टी ओलीको बपौती या कम्पनी हुन नसक्ने भन्दै पटकपटक स्पष्टिकरण सोधेपछि त्रसित होलान्, भ्रम सिर्जना होला र अरु पनि डराउलान् भनेर पठाएका कथित पत्रको कुनै औचित्य नभएकाले अस्वीकार गर्ने निर्णयमा पुगेको उल्लेख गर्नुभयो ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र त्यसको विधान उल्लंघन गरेर ओलीले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटि बनाएको भन्दै त्यही अवैद्य कमिटीको अध्यक्ष आफैलाई ओलीले घोषणा गरेकाले अवैध गतिविधिलाई मान्यता दिन नसकिने रावलको भनाइ छ ।

रावलले वैशाख २७ गते ओलीले संसदबाट विश्वासको मत लिने निर्णयमा पुग्दा समेत आफूहरुसँग सरसल्लाह नगरेकाले विश्वासको मतको विपक्षमा उभिनु परेको जिकिर गर्नुभयो ।

पछि माधव कुमार नेपाल र ओलीबीच पुनः वार्ता भएर पार्टी मिलाएर जान जेठ २ को अवस्थामा फर्कन ओली तयार भएका थिए । त्यसक्रममा उनले फागुन २३ पछिका सवै विधान विपरितका अवैध काम खारेज गर्न तयार भनेपछि एमालेको विवाद मिलाउन कार्यदल गठन भएको थियो ।

नेता रावलले ओलीले नेताहरुलाई स्पष्टीकरण सोध्ने नभइ बरु किन पटक पटक प्रतिनिधि सभा विघटन गर्नुभयो रु भनेर जनताले प्रश्न गर्न थालेको बताउनुभयो ।

एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएको थियो ।