हेटौंडा, ९ जेठ ।
प्रतिनिधि सभा विघटनविरूद्ध रहेका विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगाएतका दलहरुले भोलि सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान १० बजे रिट लिएर सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको कदमविरुद्ध रहेका सबै सांसदको हस्ताक्षर संकलन भइनसकेकाले आइतबार पेश गर्न खोजिए पनि सोमबारलाई सारिएको बताइएको छ ।
रिटमा एमाले नेता माधव नेपाल पक्षका सांसदले पनि हस्ताक्षर गरेको बताइएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि न्याय माग्दै विपक्षी दल अदालत जान लागेका हुन् ।
अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने एक सय ४९ सांसद सर्वोच्च अदालतमा रिट हाल्न जाँदा सङ्ख्या नघट्ने बताउनुभएको हो । यो सङ्ख्या अझै बढ्ने उहाँले दाबी गर्नुभयो ।
यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैको हस्ताक्षर सङ्कलन भइरहेको र भोलि बिहान १० बजे रिट दर्ता गरिने बताउनुभयो ।
यसैगरि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि आजै सबैले हस्ताक्षर गरिसकेको र बहुमत पुगिसकेको बताउनुभयो । यो सङ्ख्या अझै बढ्ने पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको तर्फबाट आजै सबै जिल्ला र पालिकामा विपक्षी गठबन्धनका पाँच राजनीतिक दल छलफल गरी अवस्था हेरी राजनीतिक प्रतिरोधका कार्यक्रम गर्ने निर्देशन दिने सहमति भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले संविधानको धारा ७६ ९५० अन्तर्गतको सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर दिँदा पनि त्यसलाई वेवास्ता गरेको भन्दै संविधानको खुलम खुला उल्लङ्घन गरिएको बताउनुभयो ।
नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले आफूहरू सकेसम्म नेकपा एमालेको एकताको पक्षमा रहेको बताउनुभयो । उहाँले एमाले एकता गराउन अझै पनि आफूहरू लागिरहेको बताउनुभयो । नेता पाण्डेले अझै पनि एमाले एकताको सम्भावना टुटिनसकेको पनि बताउनुभयो ।