हेटौंडा, ९ जेठ ।


हेटौँडा ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधामको अक्षयकोषमा हालसम्म १८ लाख रुपियाँ जम्मा भएको छ । विभिन्न सहयोगी दाता, आजीवन सदस्य, सहयोगी संस्थाहरूबाट प्राप्त रकमबाट अहिलेसम्म १८ लाख रुपियाँ अक्षयकोषमा जम्मा भएको त्रिवेणीधाम विकास समितिले जनाएको छ ।

त्रिवेणी धामको दैनिक कार्यसञ्चालनको लागि जगतगुरू बालसन्त मोहनशरण महाराजबाट रू ११०० प्रदान गरी सुरु भएको अक्षयकोषमा अहिले विभिन्न सहयोगी दाताहरूले रकम प्रदान गर्ने क्रम जारी रहेको छ ।

अक्षयकोषमा विभिन्न दाताहरू,आजीवन सदस्यले प्रदान गरेको रकमबाट रू ७५०००० ( सात लाख पचास हजार ) जम्मा भएकोमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबाट चालु आर्थिक वर्षमा रू १०००००० ( रु. दश लाख ) रुपियाँ प्राप्त भएको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो ।

अक्षयकोषमा त्रिवेणी धाम विकास समितिका कोषाध्यक्ष मणिप्रसाद सुवेदीबाट ११ हजार १ सय ५५ रुपियाँ प्राप्त भएको छ भने निर्माण व्यवसायी नरेन्द्र भण्डारीले पनि ३१ हजार रुपियाँ प्रदान गर्नुभएको छ ।


अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट कार्यविधि बनाई पाले, मालीको परिश्रमिक र दैनिक कार्यसञ्चालन हुंदै आएको समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो । साथै समितिले देश विदेशमा रहनु हुने सहयोगी मनहरूलाई अक्षयकोषमा रकम सहयोग गरी धामको विकासमा मद्दत गरिदिन अनुरोध गरेको छ ।