हेटौंडा, ९ जेठ ।
नेपाली कांग्रेस मकवानपुरले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जेठ ७ पछिको राजनीतिक घटनाले लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन भएको र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको बताउनुभएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा यस्ता असंवैधानिक, अलोकतान्त्रिक काम भएको भन्दै यस्ता कार्यविरुद्ध राजनैतिक र न्यायिक लडाइँ लड्न नेपाली कांग्रेस मकवानपुर लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ । विज्ञप्तिमा असंवैधानिक, अलोकतान्त्रिक कार्यविरुद्ध राजनैतिक र न्यायिक लडाइँ लड्न सबै लोकतन्त्रवादी शक्तिलाई आह्वान गरिएको छ । संविधान विपरीतका विकसित घट्नाक्रमप्रति नेपाली कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन नसक्ने भनी मन्त्रीपरिषदबाट निर्णय गरी अर्काे सरकारका लागि राष्ट्रपतिलाई अर्काे सरकार गठनका लागि सिफारिस गर्दा राष्ट्रपतिले पनि २४ घण्टाभन्दा पनि कम समय दिई सरकार गठन गर्न दिनु र दुई जनाको प्रधानमन्त्रीका लागि दावी पर्दासमेत पुनः कपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउनु षडयन्त्रपूर्ण काय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।