हेटौंडा, ८ जेठ ।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडास्थित सरकारी अस्पताल हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजनको अभावलाई कम गर्ने उद्देश्यले अक्सिजन प्लान्ट जडान गरिएको हो ।
अक्सिजन प्लाण्ट व्यवसायी दीपक खनाल र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत बीचको आन्तरिक सहमतमा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताउनुभयो ।
३८ लाख रुपैया लागतमा जडान गरिएको प्लान्टले दैनिक १५ देखि २० वटा ठुलो सिलिन्डर ग्यास उत्पादन गर्ने जनाइएको छ ।
कोरोना संक्रमितहरु बढेसंगै मकवानपुरमा पनि अक्सिजनको माग बढेको छ । हाल अस्पताललाई दैनिक १ सय ५० भन्दा बढि अक्सिजन सिलिन्डर ग्यास आवश्यक परिरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो ।
अस्पतालले अहिले ककनि, नुवाकोट, बारा, नवलपरासि र बिराटनगरबाट अक्सिजन ग्यास ल्याइरहेको छ । मकवानपुरमा हाल सम्म कोरोनाका कारण ७० जना भन्दा बढिको मृत्यु भइसकेको छ ।