हेटौंडा, ८ जेठ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेसँगै विपक्षी गठबन्धनले अस्वीकार गर्ने निर्णय गरेको छ ।
आज बसेको गठबन्धनको संयुक्त बैठकले असंवैधानिक कदम भएको ठहर गर्दै त्यसलाई एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने जनाएको छ ।
गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं’, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको दावीसहित १४९ सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले मान्यता नदिएको भन्दै बैठकले आपत्ति समेत जनाएको छ ।