हेटौंडा, ८ जेठ ।


हेटौँडामा कोरोना सङ्क्रमितको मृत्यु हुने क्रम रोकिएको छैन । हिजो ३ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।


उनीहरूको उपचारका क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले बताउनुभयो । हेटौंडा अस्पतालमा कोरोना संक्रमित बिरामी उपचार गर्न आउँदा सङ्क्रमितहरू अन्तिममा सास फेर्नका लागि धेरै कठिन भएपछि मात्र आउने र फोक्सोको धेरै भाग बिग्रिसकेपछि आउने गर्नाले बचाउन समस्या भएको डाक्टर काफ्लेको भनाइ छ ।


अहिले पनि हेटौंडा अस्पतालमा हाइफ्लो अक्सिजन दिएर उपचार गरिरहेका धेरै जना बिरामी रहेका छन् । पछिल्लो २४ घन्टामा अस्पतालमा मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका वडा नम्बर ११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका वडा नम्बर ९ का ६२ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का ४८ वर्षीय पुरुष रहेको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर काफ्लेले जानकारी दिनुभयो ।


यसैगरी हेटौँडा ११ की ६० वर्षीय महिलाको पनि कोरोनाको कारण आज बिहान मृत्यु भएको हो ।