हेटौंडा ः ८ जेठ
संसद विघटनबारे रणनीति तय गर्न राजनीतिकहरूको संयुक्त बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न विभिन्न पाँच दलको संयुक्त बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र काठमाडौँमा बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सहभागी हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका बारेमा छलफल हुने स्रोतले बताएको छ ।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्नुभएका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी सदर गर्ने आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति वक्तव्य जारी गर्नुभएको थियो ।